जीतपुर । रेडिमेड कपडाको अवैध आयातमार्फत राजस्व छलिएको प्रकरणमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले तीन जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। अनुसन्धान सम्पन्न भएपछि उक्त मुद्दा बारा जिल्ला अदालतमा पेश गरिएको हो।
प्रकरणका मुख्य अभियुक्त पर्साको वीरगञ्ज महानगरपालिका–२४ निवासी ५६ वर्षीय दिलिप साह रहेका छन्। उनीमाथि भन्सार नतिरी कपडा भित्र्याएर राज्यलाई राजस्व हानी पु-याएको आरोप लगाइएको छ। विभागका अनुसार साहबाट २ करोड ३६ लाख ८५ हजार ८५१ रुपैयाँ बराबरको बिगो कायम गरिएको छ। सोही आधारमा बिगो जफत, शतप्रतिशत जरिवाना तथा कैद सजायको माग गरिएको छ।
यसै प्रकरणमा रौतहट फतुवा विजयपुर–११ का २८ वर्षीय राजु प्रसाद खान र बारा करैयामाई–५ का २५ वर्षीय सन्तोष चौधरीलाई पनि प्रतिवादी बनाइएको छ। अनुसन्धानले उनीहरूले भि.सि.टि.एस. प्रणालीको दुरुपयोग गर्दै अवैध सामान ओसारपसारमा सहयोग गरेको देखाएको छ। दुवैलाई मद्दत मतियारको रूपमा मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय माग गरिएको छ।
साथै, अपराध पीडित संरक्षण ऐनअनुसार क्षतिपूर्ति असुल गर्नसमेत मागदाबी गरिएको छ। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अन्तर्गत दायर गरिएको उक्त मुद्दा चैत ३० गते अदालतमा पेश गरिएको कार्यालयले जनाएको छ।


