ईमिस कोड नलिएका निजी विद्यालयमा बालबालिका भर्ना नगर्न कलैया उपमहानगरको आग्रह

साझेदारी डेलि
51 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिकाले ईमिस कोड प्राप्त नगरेका निजी विद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्न अभिभावकलाई आग्रह गरेको छ।

कलैया उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख राजीवकुमार यादवले बुधबार जारी गरेको सूचनामार्फत उपमहानगरपालिकाबाट ईमिस कोड प्राप्त नगरेका नौ वटा संस्थागत विद्यालयमा बालबालिका भर्ना नगर्न आग्रह गरिएको हो।

उपमहानगरपालिकाका अनुसार ईमिस कोड प्राप्त नगरेका विद्यालयहरूमा कलैया–११ स्थित सुरभी ज्ञान वाटिका इङ्लिस बोर्डिङ स्कुल, कलैया–३ स्थित डिभाइन इङ्लिस बोर्डिङ स्कुल, कलैया–१ स्थित कमला इङ्लिस बोर्डिङ स्कुल, कलैया–६ स्थित काजी एकेडेमी, कलैया–८ स्थित भाग्यमनी इङ्लिस बोर्डिङ स्कुल, कलैया–१८ स्थित चाइल्ड मिसन इङ्लिस बोर्डिङ स्कुल, कलैया–५ घुसुकपुरस्थित युनिक किड्स इङ्लिस बोर्डिङ स्कुल, कलैया–२६ सिस्वामहेशपुरस्थित किन्डर गार्डेन इङ्लिस बोर्डिङ स्कुल र कलैया–१ स्थित विन्दवासिनी इङ्लिस बोर्डिङ स्कुल रहेका छन्।

उपमहानगरपालिकाले प्रचलित कानुनअनुसार विद्यालयमा अध्ययनरत विद्यार्थी उत्तीर्ण भई अर्को विद्यालयमा भर्ना हुनका लागि ईमिस कोड आवश्यक पर्ने जनाएको छ। ईमिस कोड नभएका विद्यालयमा अध्ययन गर्दा विद्यार्थीलाई भविष्यमा अर्को विद्यालयमा भर्ना हुन समस्या हुन सक्ने भएकाले अभिभावकलाई सचेत गराइएको हो।

उपमहानगरपालिकाले आफ्ना बालबालिकाको शैक्षिक भविष्यलाई ध्यानमा राख्दै ईमिस कोड प्राप्त नगरेका विद्यालयमा भर्ना नगर्न तथा नगराउन समेत आग्रह गरेको छ।

Leave a review

This will close in 0 seconds