जीतपुरसिमरा नगरको नवौं स्थापना दिवस विविध कार्यक्रम

रञ्जन यादव
21 पाठक संख्या

सिमरा । स्थानीय उद्योग, व्यापार र उद्यमशीलताको विकासलाई केन्द्रमा राख्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले मंगलबार आफ्नो नवौं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। स्थापना दिवसका अवसरमा संघले निजी क्षेत्रको सुदृढीकरण र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्‍याएको हो।

‘समृद्ध व्यापार, संगठित उद्योग, सबल अर्थतन्त्र’ भन्ने मूल नारासहित संघको कार्यालयमा आयोजित कार्यक्रममा उद्योगी, व्यवसायी, संघका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्वपदाधिकारी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा संघका निवर्तमान अध्यक्ष मोहन शर्मा लामिछाने पनि उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष गजेन्द्रकुमार गुप्ताले संघ स्थापनाको नौ वर्षको यात्रामा स्थानीय उद्योग र व्यवसायको संरक्षण, उद्यमीका साझा समस्याको उठान तथा निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि निरन्तर पहल हुँदै आएको बताए। बदलिँदो आर्थिक परिवेशमा व्यवसायीले भोगिरहेका चुनौती समाधानका लागि सरकार र निजी क्षेत्रबीच समन्वय अझ मजबुत बनाउनुपर्नेमा उनले जोड दिए।

उनले स्थानीय उत्पादनको बजारीकरण, लगानीमैत्री वातावरण निर्माण, नयाँ उद्यमको प्रवद्र्धन तथा साना–मझौला व्यवसायलाई प्रतिस्पर्धी बनाउन संघले आगामी दिनमा थप योजनाबद्ध रूपमा काम गर्ने जानकारी दिए।

कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीहरूले स्थानीय तह, सरकारी निकाय र निजी क्षेत्रबीच प्रभावकारी साझेदारी भए मात्र उत्पादन, रोजगारी र लगानी विस्तार सम्भव हुने धारणा राखेका थिए। उनीहरूले उद्योगमैत्री नीति, सहज प्रशासनिक सेवा र लगानीको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए।

स्थापना दिवसको अवसरमा संघले आफ्ना सदस्य, उद्योगी, व्यवसायी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि एकता, सहकार्य, विश्वास र समर्पणलाई संगठनको मूल आधार बनाएर उद्योग–व्यवसायको संरक्षण, प्रवद्र्धन र उद्यमीहरूको हकहितका पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a review

This will close in 0 seconds