बारामा भन्सार छलीका सामानसहित मोटरसाइकल बरामद

साझेदारी डेलि
24 पाठक संख्या

बारा । बारामा प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको सामानसहित एउटा मोटरसाइकल बरामद गरेको छ। प्रहरीले जिल्लाका विभिन्न सीमा क्षेत्रमा गरेको गस्तीका क्रममा करिब १ लाख ८८ हजार रुपैयाँ बराबरको अवैध सामान र मोटरसाइकल नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार इलाका प्रहरी कार्यालय कबहीगोठ र प्रहरी चौकी श्रीनगर बैरियाबाट परिचालित टोलीले शुक्रबार र शनिबार विभिन्न स्थानमा गरेको गस्तीका क्रममा भन्सार छलीका सामान बरामद गरेको हो।

सुवर्ण गाउँपालिका–३ लङ्गडा टोलस्थित सडकमा प्रहरीले बेवारिसे अवस्थामा ४ भाँगा बिँडी फेला पारेको जनाएको छ। त्यसैगरी पचरौता नगरपालिका–३ ललचना टोलमा भारतबाट नेपालतर्फ भन्सार छली गरी सामान ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि चालकले मोटरसाइकलसहित सामान छाडेर फरार भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद मोटरसाइकलको अन्दाजी मूल्य ५० हजार रुपैयाँ रहेको छ। मोटरसाइकलबाट ५० किलो चिनी, ३० लिटर खाने तेल तथा ४ भाँगा बिँडी बरामद गरिएको हो।

बरामद सामग्रीमध्ये चिनीको अनुमानित मूल्य ५ हजार, खाने तेलको ८ हजार र बिँडीको १ लाख २५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलसहित बरामद सामानको कुल अनुमानित मूल्य १ लाख ८८ हजार रुपैयाँ रहेको छ।

बरामद मोटरसाइकल र सामानलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Leave a review