बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ मा आज शनिबार अन्तरविद्यालय नृत्य प्रतियोगिता हुने भएको छ। ओडिएसको आयोजनामा प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा बारा, पर्सा र रौतहट जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत १२ जना विद्यार्थीले सहभागिता जनाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुनेले नगद २१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुनेले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा तृतीय हुनेले नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगिताको निर्णायक मण्डलमा नेपालका ख्यातिप्राप्त कोरियोग्राफरहरू रहने आयोजकले जनाएको छ। विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले अन्तरविद्यालय नृत्य प्रतियोगिताको आयोजना गरिएको आयोजक कमिटीका अध्यक्ष जतिन चौधरीले जानकारी दिए।
कार्यक्रमको उद्घाटन राष्ट्रिय थारु कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनोद वैद्यले गर्ने कार्यक्रम रहेको राष्ट्रिय थारु कलाकार मञ्चका केन्द्रीय प्रेस सल्लाहकार धीरेन्द्र पनुहरले जानकारी दिए।


