ओडीएस अन्तरविद्यालय नृत्य प्रतियोगिताको उपाधि हिमचुली एकेडेमीकी सानिया चौधरीलाई

साझेदारी डेलि
186 पाठक संख्या

कोल्हबी । धीरेन्द्र पनुहर / ओपन डान्स स्टुडियो (ओडीएस) जीतपुरको आयोजनामा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित प्राइम पार्टी प्यालेसमा शनिबार प्रथम ओडीएस अन्तरविद्यालय नृत्य प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगिताको उपाधि कोल्हबी नगरपालिका -४ सपहीस्थित हिमचुली एकेडेमीकी सानिया चौधरीले जितेकी छन् । उपाधिसँगै सानियाले नगद २० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरिन्। प्रतियोगितामा राष्ट्रिय विभूति डुमरवाना ग्रुप दोस्रो हुँदै नगद १५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै केयर भिजन जीतपुर ग्रुप तेस्रो हुँदै नगद १० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

ओडीएसका अध्यक्ष जतिन चौधरीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन राष्ट्रिय थारु कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यले गमलामा पानी हालेर गरेका थिए। प्रतियोगितामा बारा र पर्साका १४ वटा विद्यालयको सहभागिता रहेको थियो। पहिलो चरणमा उत्कृष्ट प्रस्तुति दिने आठ विद्यालय फाइनल चरणमा प्रवेश गरेका थिए।
प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि विनय वैद्यले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वैद्यले विद्यालयमा अध्ययनरत विद्यार्थीभित्र रहेको नृत्यसम्बन्धी प्रतिभा र ज्ञानलाई प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले आगामी दिनमा बारा जिल्लासहित तराईका अन्य जिल्लामा समेत यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा राष्ट्रिय थारु कलाकार मञ्चका केन्द्रीय उपाध्यक्ष लक्ष्मी कान्त चौधरी, केन्द्रीय संरक्षक रुपलाल चौधरी, थारु अग्रज तथा कवि हृदयनारायण, केन्द्रीय प्रेस सल्लाहकार धीरेन्द्र पनुहर, केन्द्रीय सदस्य रामप्रीत चौधरी, मधेस प्रदेश संयोजक भुवन चौधरी, बारा अध्यक्ष जयप्रकाश चौधरी, जीतपुरसिमरा–१३ का वडाध्यक्ष हेमनारायण चौधरीलगायत थारु अगुवा तथा विभिन्न कलाकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा पूजा जैसीले स्वागत मन्तव्य राखेकी थिइन् भने लक्ष्मी खरेल र राजन चौधरीले सञ्चालन गरेका थिए।

Leave a review