निजगढ : उमेश घलान/ बारा जिल्लाको उत्तरी क्षेत्रमा बन क्षेत्रमा बाघ देखिन थालेपछि बन क्षेत्रसंग जोडिएका बस्तीहरुका बासिन्त आतंकित बनेका छन ।
जिल्लाको उत्तरी क्षेत्रका विभिन्न बस्तीहरुसंगै जोडिएका बनजंगलमा पछिल्लो समय बाघको गतिविधि तीव्र बन्दै गएको छ । गत हप्तामै रतनपुरस्थित पडा र भक्तलाल बस्तीमा बाघले एक गोरु र दुईवटा बाख्रा मारेर लगेको स्थानीयले बताएका छन् । बजार र विद्यालय आवतजावत गर्ने मुख्य सडकमा समेत दिनदहाडै बाघ देखिन थालेपछि स्थानीयवासी त्रासमा परेका छन् ।
रतनपुर क्षेत्रका अभिभावकले बालबालिकाको विद्यालय आवतजावत सुरक्षित नहुने चिन्ता व्यक्त गरेका छन् । “दिनहुँ सडकमै बाघ देखिन्छ, अब खेतबारी वा जंगलतिर जान त साहस नै हुन्न,” एक स्थानीय किसानले साझेदारीलाई बताएका छन ।
यस्तै बाराकै जीतपुरसिमरा उपमहानगरपालिका–पथलैया र अमलेखगञ्ज क्षेत्रमा समेत हालै तीन जना मान्छेलाई बाघले मारेको समाचार बाहिर आएको छ । यस घटनाले मानव र वन्यजन्तु द्वन्द्व झन थपिएको सरोकारवालाले बताएका छन् ।
बारा जीतपुरमिरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरको वस्ती नजिकैको जंगलमा केही दिन पहिले पाटे बाघ देखिएको स्थानीय तेजबहादुर दाहालले बताए ।
यता वन विभागका अधिकारीहरूले चुरे क्षेत्रमा बसोबास स्थल नजिकै बाघको सक्रियता बढ्नु प्राकृतिक वासस्थान सङ्कुचन र खाद्य अभावका कारण भएको प्रारम्भिक अनुमान गरेका छन् । बाघ मानिसतिर आएको भनेको उसको सुरक्षित बासस्थान कमजोर भएको संकेत हो, यसलाई नियन्त्रण गर्न रणनीति बनाउन जरुरी छ, एक अधिकारीले बताए ।
बाघको आक्रमणले दुई महिनाको अन्तरालमा तीन जना मानिसलाई ज्यान लिएको छ । बाघ मानव वस्ती र मुल सडकहरुमा निस्किन थालेपछि स्थानीयले तत्काल डिभिजन वन कार्यालय र सम्बन्धित निकायलाई दबाब दिएर सुरक्षात्मक कदम चाल्न आग्रह गरेका छन ।
यसैविच बाघ आक्रमणका घटना बढ्दै गएपछि पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार र डिभिजन वन कार्यालयले मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रण कार्ययोजना २०८२ तयार पारेका छन्। निकुञ्जको मध्यवर्ती क्षेत्र अमलेखगन्ज लगायत क्षेत्रमा बाघको गतिविधि तीव्र बन्दै गएपछि द्रुत नियन्त्रणको आवश्यकता महसुस भई सरोकारवालासँग छलफल र सुझाव संकलन गरेर यो कार्ययोजना ल्याइएको भएपछि हालसम्म बाघलाई नियन्त्रण गर्न सकिएको छैन ।

