बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको जबर्जस्ती करणीपछि भएको हत्याको विरोधमा स्थानीयवासी तथा पीडित परिवारले दोस्रो दिन पनि प्रदर्शन जारी राखेका छन्।
दोषीलाई हदैसम्मको कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै स्थानीयवासीले बुधबार बिहानैदेखि पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर यातायात अवरुद्ध गरेका हुन्। प्रदर्शनका कारण सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।
प्रहरीका अनुसार साउन ३१ गते बिहानदेखि घरबाट हराएकी गरिमा सोही दिन जबर्जस्ती करणीपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भदौ २ गते साँझ स्थानीयको एक खाली घरभित्र बालिकाको शव शङ्कास्पद अवस्थामा फेला परेपछि घटना बाहिर आएको थियो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकामध्ये मुख्य आरोपितले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई जबर्जस्ती करणीपछि हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ।
यसैबीच, बालिका हराएको सूचना समयमै इलाका प्रहरी कार्यालय सिमरालाई दिँदा पनि खोजीमा पर्याप्त चासो नदिएको पीडित पक्षको आरोप छ। उनीहरूले घटनामा प्रहरीको भूमिकामाथि समेत छानबिन गरी दोषी देखिए कारबाही गर्न माग गरेका छन्।
पीडित परिवार तथा स्थानीयवासीले बालिका गरिमाको हत्यामा संलग्न सबैलाई कडा कानुनी कारबाही र परिवारलाई न्याय सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।


