कलैया । पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषधगाँजा सहित एक ७० वर्षीय वृद्धलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी चक्रबहादुर मल्लले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी यस्तो बताएका हुन्।
पक्राउ पर्नेमा पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नं.४ बस्ने ७० वर्षीय दुखि महतो रहेका छन्। उनीबाट १७ केजी सात सय ग्राम गाँजा बरामद भएको छ।
लागूऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलीले बिहीबार पटेर्वासुगौली गाउँपालिका वडा नं.४ भथौरा बस्ने वर्ष ७० को दुखि महतोको घर खानतलासी गरेको हो।
महतोको घरबाट लागू औषध गाँजा प्लाष्टिकसहित १८ के.जी.४०० ग्राम तथा प्लाष्टिक बिना १७ किलो सात सय ग्राम फेला परेको थियो। गाँजासहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ।


