निजगढ नगरपालिकाले कोरोना संक्रमितले प्रयोग गर्न मिल्ने रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने प्रकृतिको औषधिहरु निशुल्क वितरण गर्ने भएको छ ।
निजगढ नगरपालिकाको सोमबार सम्पन्न विपद व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमित र संक्रमितका परिवारलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भिटामिन सी, बी कम्प्लेक्स, जिंक चक्की लगायतका औषधिहरु खरिद गरि निशुल्क वितरण गर्ने निर्णय गरिएको नगरप्रमुख सुरेश कुमार खनालले बताएका छन ।
बैठकले नगर भित्र संचालित बैंक तथा वित्तीय संस्थाहरुमा एटिएम सेवा बाहेक अन्य सम्पूर्ण बाह्य सेवाहरु यथावत रुपमा बन्द गर्ने निर्णय गरेकोछ ।
यस्तै नगर भित्रका नदिजन्य पदार्थ उत्खनन र ओसारपसारमा पनि रोक लगाईने भएकोछ । कोरोना नियन्त्रणको लागी नगर क्षेत्र पूर्ण रुपमा बन्द गरिएको अवस्थामा नदिजन्य पदार्थ उत्खनन र ओसारपसारमा वृद्धि हुन थालेपछी जेठ ७ गते सम्मको लागी नदिजन्य पदार्थ उत्खनन र ओसारपसारमा रोक लगाईएकोहो ।
बैठकले कृषक तथा पशु पालन व्यवसायलाई मध्यनजर गर्दै मकै र दुग्धजन्य पदार्थ ओसारपसार तथा निकासिकालगी अनुमति दिने निर्णय पनि गरेकोछ ।

