मधेस प्रदेशको ८ वटै जिल्लालाई पूर्ण “साक्षर” बनाउनुपर्ने , विद्यालय स्वास्थ्य कार्यक्रमसँगै “स्वास्थ्य साक्षरता” बढाउनुपर्ने

साझेदारी दैनिक
720 पाठक संख्या

चन्द्रकिशोर प्रसाद साह/
नेपालको तराईको मधेश प्रदेशमा रहेका पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्मका ८ वटा जिल्लाहरुलाई पूर्ण रुपमा साक्षर बनाउनुपर्दछ । साक्षर हुँदा हरेक कार्य प्रक्रियामा मानिसहरुको पहुँच स्वतःस्फूर्त क्रमिक रुपमा वृद्धि, विकास भई देश, प्रदेशको उत्तरोत्तर प्रगतिमा सघाउने पुग्छ । अहिले विद्यालयमा दिवा खाजाको प्रारम्भ चाँहि विद्यालय स्वास्थ्य कार्यक्रमको एउटा फड्को हो जसलाई अझ सुधार गर्नुपर्ने देखिन्छ । यस्तै विद्यालयमा नयाँ विद्यार्थी भर्ना हुँदा नै उनीहरुको स्वास्थ्य परीक्षण गरी स्कुलमा भर्ना गर्नुपर्ने, कक्षा उन्नति गर्दा प िनयाँ सेशन प्रारम्भ हुँदा उनीहरुको स्वास्थ्य परीक्षण गर्दा राम्रो मानिन्छ । यसरी जाँच गर्दा आँखा, कान, दाँत, मुटु, फोक्सो आदि अंग, रोगहरुको परीक्षण गरी विद्यार्थीहरुको हेल्थ कार्ड बनाउनुपर्दछ ।

साथै सवै विद्यार्थीहरुको रोग परीक्षण गरी सवै रेकर्ड चाँही रजिष्टरमा उल्लेख गरी राख्नुपर्दछ । अहिले माध्यमिक विद्यालयहरुमा खेलकुद शिक्षक, नर्सको व्यवस्था गरिएको छ तापनि कतिपय विद्यालयमा व्यवस्थापनि गर्न सकिएको देखिदैन । कतिपय विद्यालयमा भएपनि समुचित कोठा, सामग्री, औषधिको व्यवस्था मिलाउन सकिएको छैन । अतः समुचित व्यवस्थापन गर्न सक्नुपर्दछ । साथै विद्यार्थीहरुलाई समुचित स्वास्थ्य कक्षा व्यवस्थापन गराउन सक्नुपर्दछ ।

विद्यार्थीहरु मार्फत् हेल्थ लिटेरेसी (स्वास्थ्य साक्षरता) बढाउन सहयोगी पुर्याउन सक्नु पर्दछ । यसको लागि समय समयमा स्वास्थ्य तालिमको व्यवस्थापन गराउन सक्नुपर्दछ । तर स्वास्थ्य साक्षरतामा निकै कमि भएको मधेश प्रदेशमा तत्सम्वन्धी कार्यक्रम गर्नुपर्ने देखिन्छ । नेपालमा प्रतिलाख १५१ मातृमृत्यु रहेको छ । हुनत बारा जिल्ला स्वास्थ्य साक्षरता सम्वन्धमा विद्यार्थीहरुमा केही विषयमा अन्य जिल्लाहरुको तुलनामा अलिबढी सुसूचित रहेको पाइन्छ । तर ईमजेन्सी अवस्थाका लागि अझ तत्पर हुनुपर्ने देखिन्छ ।

जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको जसमा पुरुष ४८.८७ प्रतिशत र महिला ५१.१३ प्रतिशत रहेको छ । सवैभन्दा बढी २०.९७ प्रतिशत बागमति प्रदेश र सवैभन्दा कम ५.७९ प्रतिशत कर्णाली प्रदेशमा जनसंख्या रहको छ ।

तराईमा ५३.६१ प्रतिशत, पहाडमा ४०.३१ प्रतिशत र हिमालमा ६.०८ प्रतिशत जनसंख्या रहेको छ । २१ लाखभन्दा वढी नेपालीहरु विदेशमा बसिरहेका छन् । वार्षिक जनसंख्या वृद्धि दर ०.९२ प्रतिशत रहेको छ भने प्रतिवर्ग किलोमिटरमा वस्ने मानिसहरुको जनघनत्व १९८ रहेको छ । सवभन्दा वढी जनघनत्व तराईमा ४६० र हिमाली क्षेत्रमा ३४ जनघनत्व मात्र रहेको छ ।

यस्तै सवैभन्दा बढी काठमाण्डौ जिल्लामा ५१६९ अनि सवैभन्दा कम मनाङ्ग जिल्लामा ३ जनघनत्व प्रति वर्ग किमिमा रहेको छ । नेपालमा ५० प्रतिशत मानिसहरु कृषि, माछा पालन, वृक्षरोपणमा सक्रिय छन् । तर कृषिमा सरकारले जोड दिन सकेको छैन ।

१५ वर्षभन्दा माथिका मानिसहरु दैनिक जीवनयापनमा सामान्य लेखपढ गर्न जान्ने संख्या नै वयस्क साक्षरता हो । नेपालमा २०५८ को जनगणनामा ४८.६, २०६८ मा ५९.६३ अनि २०७८ मा ७१.१५ प्रतिशत भएको छ भने ५ वर्ष भन्दा माथिको साक्षरता अहिले ७६.३ प्रतिशत छ ।

साक्षरता अवस्था हेर्दा काठमाण्डौ जिल्लामा ९०प्रतिशत, डोटीमा ७२ प्रतिशत, अछाममा ७३ प्रतिशत, जुम्लामा ६९ प्रतिशत, मानाङ्गमा ७९ प्रतिशत, रामेछापमा ६९ प्रतिशत, कैलालीमा ७८ प्रतिशत रहेको देखिन्छ ।

मधेस प्रदेसको ८ जिल्लाहरुमा लेख्न नजान्ने तर पढ्न सक्ने समेत जोडेर साक्षरता अवस्था हेर्दा बारामा करीब ६४ प्रतिशत रहेको छ भने पर्सामा ६९ प्रतिशत, रौतहटमा ५८ प्रतिशत, सर्लाहीमा ६० प्रतिशत, महोतरीमा ६० प्रतिशत, धनुषामा ६५ प्रतिशत, सिरहामा ६५ प्रतिशत र सप्तरीमा ६८ प्रतिशत साक्षरता रहेको देखिन्छ ।

मधेश प्रदेशको साक्षरता अवस्थालाई अन्य विकट, सुदुर, हिमाली, पहाडी जिल्लाहरुसित तुलनात्मक दृष्टिगत गर्दा मधेश प्रदेश चाँहि सुगम क्षेत्रका जिल्लाहरु रहेता पनि साक्षरता लगायतका कुराहरुमा पछि परेको देखिन्छ । यस्तै हेल्थ लिटेरेसी (स्वास्थ्य साक्षरता) सम्वन्धमा खासै तथ्याँक नभेटिए तापनि स्वास्थ्य विषयक जानकारी, सीप, सरसफाई आदि सम्वन्धमा मधेश प्रदेशभन्दा हिमाली, पहाडी क्षेत्रमा स्वास्थ्यमूलक जनचेतनाको विकास बढी रहेको बताइन्छ ।

उतातिर कार्यक्रम गर्दा अलिव्यवस्थित तरिकाले गरिन्छ भने मधेशमा गम्भिर भएर कार्य गरिदैन । यसरी साक्षरता कार्यक्रम चलाउँदा व्यवस्थित तरिकाले सहभागी छनोट गर्न नसकी हचुवाको भरमा सञ्चालन गरिएका र साथै बजेट पनि समुचित तरिकाले छुट्याउन कमजोरी रहेकाले सो साक्षरता कार्यक्रमले निरन्तरता पाउन नसकी उदेकलाग्दो अवस्थामा साक्षरता अवस्था रहेको पाइन्छ ।

नेपालको ७ वटै प्रदेशमध्ये आर्थिक, स्वास्थ्य, शिक्षा, पर्यटन विकास आदिको क्षेत्रमा मधेस प्रदेश कमजोर रहेको बताइन्छ । मधेश प्रदेसलाई अगाडि डोर्याउने प्रखर इमान्दार नेता, विधायक, साँसदहरुको अत्तिकमी रहेको देखिन्छ ।

महत्वकांक्षी भाषणमा बढी सीमित भई वास्तविक जनसरोकारका विषयमा केन्द्रित नभई कार्यप्रक्रिया अपनाउँदा पछि परेको हो । हुनत जनता निरक्षर भएपछि पशुमाथि शासन गरेझै जन्तुजनतामाथि राज्यसत्ता चलाउन सजिलो भएकाले पनि साक्षरता कार्यक्रममाथि ध्यान दिएको पाइँदैन ।

तर जनता साक्षर नहुन्जेलसम्म देश, प्रदेश, नगर, गाउँको विकास असम्भव हुन्छ । अतः साक्षरता तथा हेल्थ लिटेरेसी (स्वास्थ्य साक्षरता) बढाउन विद्यार्थी, युवा, वृद्धवृद्धा जनतामा व्यापक रुपमा चेतना, शिक्षा, स्वास्थ्य कार्यक्रम योजना निर्माण, कार्यान्वयन प्रक्रिया पूरा गर्न सक्नुपर्दछ । यसको लागि सवै सम्वद्ध निकाय, व्यक्ति ऐक्यवद्ध भई लाग्नुपर्दछ ।

 

Leave a review

This will close in 0 seconds