Sajhedari Daily
Latest News from Nepal

कोरोनाकालको कात्र्तिकी छठ पुजामा सतर्कता अत्यावश्यक

-चन्द्रकिशोर प्रसाद साह /

छठ भारत, नेपाल, बंगलादेश, पाकिस्तान, मरिशस आदि देशमा व्याप्त छ । नेपालको पहाडी जिल्लाको शहरी क्षेत्रमा छठका लागि अस्थायी “श्रीसोप्ता” बनाएर पूरा गरिन्छ । छठमा ठेकुवा (खजुरी) लाई वढी महत्व दिइएकोले यस पर्वलाई ठेकुवाको पर्व भनी चिनिन्छ । यसमा ३ दिनसम्म निराहार बसी जलसमेत नखाएर शुद्ध रुपमा छठी देवीलाई भक्तीभावले पुज्ने गरिन्छ । श्री सिद्धेश्वर संस्कृत महाविद्यालय कलैयाका प्रअ तथा रामराजा क्याम्पसका अध्यापक छवीरमण सुवेदीअनुसार छठ पर्वको शुरुवात चाँहि सृष्टिको प्रारम्भिक काल (सत्युग) देखि नै भएको पाइन्छ ।

सवैभन्दा पूरानो ऋग्दवेदको महत्वपूर्ण पुस्तक “उषाशुक्त” हो जसमा सूर्य (पति, श्रीमान्) को प्रार्थना गर्नुपर्ने औल्याइएको छ । सूर्यदेवको २ वटा पत्नि (उषा अर्थात् विहान र प्रत्युषा अर्थात् साँझ) हुन् । यसरी छठ गर्नुको अर्थ सूर्यदेवको दुबै श्रीमति उषा र प्रत्युषा (विहान, साँझ) लाई प्रार्थना गर्नु भन्ने हुन्छ । विहान घरको ढोका खोल्ने र साँझमा ढोका बन्द गर्ने कार्य पत्निले गर्ने भएकाले नारीको सम्मानपूर्वक आदरका साथ सूर्याेदय र सूर्यास्तको पूजाआजा गरिनु नै छठ हो । व्यावहारिक पक्षअनुसार अस्ताउंदो सूर्यको अर्थ वृद्ध र उदाउँदो सूर्यको अर्थ बालक भन्ने हुन्छ । यसरी पहिले वृद्धवृद्धालाई अनि पछि बालकलाई मानआदर गर्नुपर्ने मान्यताअनुरुप नै पहिले साँंझतिर अस्ताएको र विहानी उदाएको सूर्यनारायणलाई छठमा अर्घ दिने गरिएको बुझिन्छ ।

क्रमवद्ध रुपमा छैठौ देवीको रुपमा “कात्यानी” को उपासक सन्तनु रहेका थिए । एक दिन सन्तनुको छोराको मृत्यु हुँदा नदीको किनारमा धेरै विलाप विलौना गरिंदा कात्यानी देवी प्रकट भई उक्त मृत छोरोलाई “जिउँदो छोरी” बनाएकीले उनको उपासनास्वरुप प्रत्येक वर्ष कात्र्तिक शुक्ल षष्टीका दिन पूजा गरिने परम्पराको आरम्भ भएको पाइन्छ ।

छठी माता चाँहि खरनाको दिन आफ्नो माइती घरमा आउँछिन् र सप्तमीको दिन विहान फेरी आफ्नो ससुरामा विदा भएर जान्छिन् । सोही अनुरुप नै छठ गर्नेहरु पनि पं्रथम पटक माइतिबाट शुरु गर्ने गरिएको परम्परा रहेको हो । कात्र्तिकी छठ चाँहि कात्र्तिक महिनाको शुक्ल पक्षको षष्टीमा गरिन्छ । जो कात्र्तिक महिना छठमा सहभागी हुन्छन् ती सवैलाई चैत्रमा गर्नुपर्ने बाध्यता छैन । यसमा प्रदेश २ सरकारले २ दिन विदा दने गर्दछ । छठ घाटहरुलाई तडकभडकका साथ दुलही झै सिँगारिएको देखिन्छ । यस पर्वका बेलामा बजार भाउ तीब्र भएको देखिन्छ ।

छठ प्रक्रियामा ईंट, ढुङ्गाको सानो पिण्ड “शिरसोप्ता माई” निर बसी सामूहिक रुपमा छठको अत्तिरमणीय सुमधुर लयशैलीमा गीत गाइन्छ । यसमा अन्य पर्वको तुलनामा केही गलत नहोस् भनी बढी सावधानी अपनाउने गरिन्छ । यसमा धेरै चोखो, धैर्यता, शान्ती, मनोवलका साथ कार्य सुसम्पन्न गरिन्छ । छठको लागि परिकारहरु बनाउन गंहु अन्नलाई राम्ररी पानीले सफा गरी बडो ध्यानपूर्वक अन्य कुराको सम्पर्कबाट अलग्गै राखी सुकाएर मिलमा पिँध्ने गरिन्छ । अनि नयाँ माटोको चुल्हो बनाई त्यसमा ठेकुवा, पुरी, केसार पकाउने गरिन्छ । पकाउनका लागि अलिकति भएपनि आँपको दाउरा मिश्रित गरी पकाउने गरिन्छ । मंसिर ३ गते बुधवार (शुक्ल चौठी) को दिन ब्रतालुहरुले पहिलो दिन नुहाएर भोजन गरे जसमा सकभर बास्मतिको चामल, रहर, बंगला, चनाको दाल, तोरीको साग, लौका, केलाको तरकारी आदि खाइन्छ । तर मुसुरोको दाल, परोड, घिउँडा खाइँदैन किनकि यसबाट तीर्खा बढी लाग्ने गर्दछ ।

दोश्रो दिन (मंसिर ५ गते शुक्रवार) पञ्चमीको दिनभरि भोको बसी साँझपख साठी नामक चामलाको खीर, गेहुको रोटी (रसियाव रोटी), तुलसीको पात, फलफूल खानुपूर्व धुप, अगरबत्ति, आगो बालेर तयार पारिएको सानो हवन कुण्डमा नेवज (ती भोजनबाट अलिकति बाहिर आगोमा राखिने प्रक्रिया) दिई पहिलो अर्घ दिई छठको आरम्भ गरिन्छ जसलाई “खरना” भनिन्छ । यसको भोलीपल्ट षष्टीको दिन दिउँसो ३ बजेपछि घाटमा जानेक्रम शुरु हुन्छ । यसरी त्यहा छठ पुजाको लागि बनाइएको “श्रीसोप्तामाई” वरिपरि सामूहिक रुपमा बसी गीत गाउने, बजाउने, पुजापाठ गरी अन्तमा आफ्नो उपलव्ध स्थानको नदी, पोखरी, ताल, समुद्र किनारमा गई सूर्यास्तलाई दोश्रो अर्घ दिइन्छ ।

अर्घमा खजुरी, केला, मुला, अदुवा, सुथनी, नारियल, निम्बु, फलफूल, मटर, चामल, सुपारी, लवांग, ईलाइची, छोहडा, किसमिस, काजु, बतासा, ऊंखु आदि ढकना वा सुपुली आदिमा राखी सूर्यलाई पानीमा रहेर साँझ आफै अर्घ दिइन्छ । यस्तै साँझको घाट पछि भोलिपल्ट विहान पारणाको दिन फेरि विहानै ३ बजेदेखि मानिसहरुले आआफ्नो दौरा घरबाट लिएर घाटमा जम्मा भई गीत गाउने, बजाउने, पुजा पाठ गरिने, प्रसाद चढाउने कार्य हुन्छ । त्यसपछि सूर्याेदयलाई पंडितमार्फत् दूधमिश्रित पानीले सूर्यदेव (घाम) तिर फर्केर उनको उपस्थितीमा पुनः अर्घ दिई छठ ब्रतलाई विधिवत रुपमा समापन गरिन्छ । घाटबाट फर्किदा एक आपसमा छठी ब्रतालुहरुले सिन्दुर निधारमा टिका जस्तै लाउने, सारीको माथिल्लो भागतिर “खोंइचा” मा प्रसाद दिइने, जेठो मानिसलाई खुटामा ढोग्ने, गेटमा भिख माग्नेहरुलाई प्रसाद, पैसा दान गर्ने अनि गाउँको मन्दिर स्थानहरुमा प्रसाद चढाउने र त्यस उपरान्त आआफ्ना घरमा जाने गरिन्छ ।

पानीमा आरधना प्रचलनको सम्वन्धमा द्वापरयुगमा कुमारी रहेकी कुन्तिले सूर्यदेवको पूजा गरी वरदान पाएकी थिइन् । तर कुन्तिलाई वरदानमाथि विश्वास नभएर एक दिन सूर्यदेवलाई बिना जरुरी कै गुहारिन् जसबेला सूर्यदेव उपस्थित भए । अनि कुन्तिनिर कुनै प्रयोजन थिएन । तर कुन्ति चाँहि सुसंगठित शरीर एवं अत्तिसुन्दर तरुणी रहेकी थिइन् जस समय तिनको अवस्था हेरी सूर्यदेव अत्तिमोहित भई दुवैवीच सहसम्वन्ध स्थापित भई अविवाहित कुन्तिलाई गर्भ रहेपछि समाजको डरले जन्मपश्चात् छोरो कर्णलाई नदीमा बगाइन् र पछि कर्णले अन्जान मै आफ्ना पिता सूर्यदेवलाई नाभीसम्म पानीमा उभिएर अराधना गरी शक्ति प्राप्त गरेकाले त्यसैको नक्कलस्वरुप अहिले पनि शक्ति प्राप्तिका लागि भक्तजनहरुले पानीमा रहेर सूर्यको अर्घ दिने गर्दछन् ।

यस्तै भाकल गर्नेहरुले आफ्नो घरदेखि नै दण्ड घिंच्ने (एक हात बराबर बाँसको डण्डीलाई हातमा लिएर जमिनमा सुतेर अगाडी चिन्नो लाइने र पुनः त्यै चिन्होमा उभिएर फेरि अगाडितिर अर्काे चिन्हो लाइने प्रक्रिया) कार्य गर्दै छठ घाटसम्म पुग्ने गर्दछन् । कतिपय मानिसले कपाल कटाउने, घाटमा ब्रतालुहरुको दौरा (छैटा) मा मिठाई बाँड्ने आदि गर्दछन् । भाकल गर्नेले मात्र कोसी भराउने कार्य सम्पन्न गर्दछ । साँझ घाटमा कोसी भर्ने र पुनः साँझीपख घाटबाट कोसी ल्याएर घरको आँगन, कौशी, द्वारमा कोसी भरिन्छ । अनि विहानै ३ बजेतिर कोसीलाई घाटमा लग्ने गरिन्छ । यसका लागि ४ वटा ऊखुका जरोलाई तल राखेर सवैको माथितिर बाँधिने र तल माटाको घैटा, ढकना, ऊंखु, खजुरी, मिठाई, ईगुर, फलफुल इत्यादी राखेर घर वरिपरिका मानिसहरु जम्मा भई गीत गाउने, पुजा गर्ने गरिन्छ ।

छठमा सकारात्मक पक्षहरुमा जोड दिने र नकारात्मकतालाई निरुत्साहित गर्दै लैजानुपर्ने देखिन्छ । कलैया ६ का उषा देबी साह अनुसार घरमा सुख, शान्ती र छोराछोरी, श्रीमान्, सबै परिवारको भलाईको लागि छठ पुजा गरिन्छ । छठको उपलक्ष्यमा धेरै मानिसहरुले नगद, कपडा, अन्नहरु दान गर्दछन् । कतिले भिख माँगेर पनि छठ गर्दछन् । कलैया उपमहानपाका केही वडा जस्तै कलैया ७ मा साडीहरु बाँडियो जसमा मध्यम, निम्न, दलित गरी ३ किसिमको क्वालिटीको कपडा भएकोेले यसलाई एकरुपता गर्दा राम्रो हुने थियो भनी ब्रतालुद्वारा बताइन्छ । तर कलैयामा छठपूर्व सामाजिक सुरक्षा भत्ता वितरण नभएकोप्रति बृद्धवृद्धाहरु अत्तिरुस्ट भएका देखिन्छन् । यसमा हिन्दुले आफ्ना पर्वमा इस्लाम, अन्य इष्टमित्रकहाँ कोशेलीहरु अदानप्रदान गरिने, मुसलमानले पनि हिन्दु कहाँ खानेखुवाउने कार्य प्रचलनमा रहेको छ । यसमा एक आपसमा सुखदुःख साटासाट हुने गर्दछ । राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री, साँसद, विधायक आदिले छठको शुभकामना दिने गरेको पाइन्छ ।

घरपरिवारमा कसैको मृत्यु हुँदा जुठो परेको भनी सवै छठको प्रकृया गरिन्छ तर अर्घ दिइँदैन । यस्तै छठीब्रताको गर्भमा बच्चा हुँदा घाटमा जाने अवस्था नभएमा अरुमार्फत् अर्घ पठाइने गरिन्छ । तर परिवारमा कसैको पनि शिशु जन्मिँदा पनि जुठो परेको भनी अर्घ दिइँदैन । यो पर्व एक चोटी शुरु गरिसकेपछि छोड्ने र पुनः बीचमा मन लाग्यो अनि शुरु गर्ने गरिदैन् । यदि शरीर असक्त भई उपवास बस्न सक्ने अवस्था नहुँदा आउने वर्ष छोड्न मन गर्याे भने यसै वर्ष नै अर्घ दिई प्रसादहरुको एक भाग पोखरी वा नदीमा र एक भाग पंडितलाई दिई छोड्ने (बसाउने) विधि अपनाइन्छ ।

सकारात्मक पक्षः विहान शुद्ध हावा हुनुका साथै सूर्यको मन्द घाममा भिटामिन डी पाइन्छ । यसका अलावा कतिपय स्थान, घरमा महिलाहरुलाई बाहिर निस्कन नदिइने गरिएकोले कमसे कम ६÷६ महिनामा सामूहिक भेंटघाट, मनोरंजन गर्न पाइन्छ । कुमारी तथा विधुवालाई पनि छठ गर्न छुट छ । छठमा आईमाईहरुलाई स्वतन्त्रता, लत्तकपडा, मीठो स्वादिष्ट पकवान, आत्मसन्तुष्टी, सपिवारको भेंटघाट, मानसिक रोगव्याधि हट्ने, छोराछोरी प्राप्तिप्रति आशावादी, अनुशासित, घर पोखरी नदिको सरसफाई हुने गर्दछ । कतिपय स्थानको पानीमा सल्फरयुक्त तत्व हुने भएकोले पानीमा केही घण्टा समय बिताउने गरिएकोले चर्म रोग ठीक हुन्छ । ठेकुवा पकाउन आँपको दाउरा अनिवार्य गरिएकोले पुजाका लागि भए पनि मानिसहरुले रुखको संरक्षण गर्दा अक्सिजनको उपलव्धतामा सहयोग पुग्ने देखिन्छ । खीर खाँदा सँगै तुलसी खाइने गरिएको जुन भिटामिन ए भएकोले त्यसले शरीरलाई फाइदा पुग्छ । यस्तै छठ गर्न छोड्दा पानीमा एउटा अर्घ दिनु अर्थको माछाहरुको पालनपोषण गर्नुलाई पनि संकेतको रुपमा लिन सकिन्छ ।

नकरात्मक पक्षः खरनादेखि परणासम्म ३६ घण्टा अन्न, पानीसमेत नपिउने गरिएकोले इलेक्ट्रोलाइट्स असन्तुलन हुने, पेटमा ग्याँस बढ्ने, आमाशयको घाउ, मृगौला फेल हुने आदि हुने गर्दछ । तर गीतामा कृष्णद्वारा “शरीरलाई कष्ट दिएर ब्रत गर्नुहुन्न” भनिएको छ । अतः छठमा पानी समेत नपिउनु भनेको ब्रतालुहरुको हठिपना देखिन्छ जुन कतै ग्रन्थहरुमा पानी नखानुपर्ने भनी उल्लेख गरिएको पाइँदैन । तर अहिले केही परिमार्जन भएको देखिन्छ । जस्तैः साँझ घाटको दिन एका विहानै केही ब्रतालुहरुले चिया, काढा, जुशहरु पिउने गरेका देखिन्छन् र अझ खुकुलो गरी सबैले पानी, फलफूल खान सकिने वातावरण तयार गरिनुपर्दछ । कतिपय ब्रतालुले पानीमा नै शरीरको छातीसम्म डुबाएर रहँदा जीउ भिज्ने र टाउको खुल्ला रहने गरेकाले शरीरको सन्तुलन एकैनाशको नभएर एलर्जी भई रुघाखोकी लाग्दछ । घाटहरुमा व्यवस्थित तरिका नअपनाइने भएकोले चारैतिर फोहोर हुने गर्दछ ।

कोरोनाकालः मंसिर, पौष, माघ ३ महिना चिसोमा कोरोना भाइरसको तीब्र वृद्धि हुने भएकोले संक्रमणलाई ध्यानमा राखी बिरगंज लगायतका केही स्थानहरुमा चैती छठझै आआफ्नै घरमा छठ हुने भएको छ । छठ घाटमा कम्तिमा ४ फीटको दुरी अप्नाएर बस्नुपर्ने हुन्छ । अन्य मानिसहरु घाटमा जाँदा मास्क अनिवार्य लाउनुपर्ने हुन्छ । अन्यथा बृद्धबृद्धा, बच्चाबच्चीहरुर्ला छिटै सर्ने भई १ हप्तापछि असर गर्न थाल्ने भएकोप्रति सम्वन्धित निकाय, व्यक्ति सबै सतर्क हुनुपर्दछ ।