जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज्मा जारी गरेको कर्फयु दोस्रो दिन मंगलबार जारी राखेको छ ।
सोमबार साँझ पाँच बजेदेखि प्रशासनले जारी गरेको कर्फयु मँगलबार पनि जारी रहेको हो ।
मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म भने कर्फयुलाई खुकुलो पारिएको थियो ।दस जबेपछि फैरि कर्फयुलाई जारी नै राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले साझेदारी दैनिकलाई जानकारी दिए ।
मंगलबार भने कुनै अप्रिय घटना भने नभएको उनले बताए ।यस्तै वीरगञ्जमा जारी निषेधाज्ञाको बारेमा सर्वदलीय बैठक मंगलबार बसेको थियो ।बैठकले पाँच बुँदै प्रतिबद्धता गर्दै सकिएको थियो ।
सर्बदलीय बैठकमा नेपाली जनताबीचको सम्बन्ध एवं एकतालाई विखण्डन गर्न खोज्ने दुष्प्रयासलाई निष्फल पार्ने सामूहिक प्रतिबद्धत्ता गर्ने निर्णय भएको छ ।जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले एक अर्काको आस्थाको केन्द्र तथा धार्मिक स्थलहरुको सम्मान गर्दै यस्ता स्थान तथा धार्मिक स्थलहरूमा नाराबाजी. जुलुश लगायतका विरोधका कार्यक्रम नगर्ने नगराउने निर्णय गरिएको छ ।
यस किसिमका गतिविधि गर्ने जो सुकैलाई प्रचलित कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ । सामाजिक सञ्जालमा कुनै पनि जात, धर्म वा समुदाय लक्षित गरी नकारात्मक कुराहरु पोष्ट गर्ने गराउने उपर प्रशासनबाट कानून बमोजिम कडा कारवाही गर्ने बैठकले निर्णय गरेको छ ।
जिल्लाको शान्ति सुरक्षा र अमन चयनलाई खलल पार्ने किसिमका धार्मिक,सामाजिक,सांस्कृतिक सदभाव बिगार्ने एवं द्वन्दलाई उक्साउने प्रकारका अवान्छित गतिविधिहरुलाई रोक लगाइएको छ ।
धार्मिक साम्प्रदायिक र्याली जुलुश,बन्द हडताल लगायतका कुनै पनि गतिविधिहरु कुनै पनि संघ,संस्था एवं समुदायले नगर्ने तथा यसमा सबै राजनितिक दल,स्थानीय तह. नागरिक समाज,संघ,संस्था एवं सरोकारवालाहरुले सहयोग गर्ने निर्णय पनि गरिएको उनले बताए ।
जिल्ला भित्र खुल्लम खुल्ला रुपमा डिजे बजाउने र चकों माइक बजाउने कार्य रोक्ने,लाठी भाला,राँके जुलुश निकाल्ने लगायतका कृयाकलाप गर्ने विरुद्ध कानून बमोजिम कारवाही गर्न प्रशासन समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
यस अभियानमा सबैले सहयोग गर्ने गर्ने पनि सर्बदलीय बैठकले निर्णय गरेको छ । रौतहटमा सरस्वती माताको मूर्ति बिसर्जनको क्रममा भएको बिबादलाई लिएर वीरगञ्जमा सोमबार बजार बन्दको आवहान् गरिएको थियो ।
सो क्रममा दुई पक्षबीच बिबादसहित झडप समेत भएको थियो ।स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रशासनले साँझ ५ बजेदेखि वीरगञ्ज महानगर क्षेत्रमा कर्फयु आदेश जारी गरेको थियो ।
जुन दोस्रो दिन मँगलबार पनि जारी छ ।प्रशासनले पुर्बमा नगवा,पश्चिममा तिलावे पुल उतरमा परवानीपुर दक्षिणमा मितेरी पुलसम्मको क्षेत्र तोकेर कर्फयु लगाएको छ ।

