जीतपुर । बारामा सोमबार भएको सवारी दुर्घटनामा स्कुटरमा सवार तीन किशोर घाइते भएका छन्। सिप्रदी ट्रेडिङ अगाडिको सडकमा काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको टाटा सुमोले स्कुटरलाई ठक्कर दिँदा उनीहरू घाइते भएका हुन्।
दुर्घटनामा जीतपुरसिमरा उपमहानगरपालिका–२ का १५ वर्षीय अलेककुमार तामाङ तथा वडा नं. २१ का १५ वर्षीय सुशान्त क्षेत्री र स्वयम श्रेष्ठ घाइते भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
प्रहरीका अनुसार प्रदेश नं. २–०३–००९ प ६६७६ नम्बरको स्कुटर सडक पार गर्ने क्रममा मधेश प्रदेश–०८–००१ ज ०००९ नम्बरको टाटा सुमोसँग ठोक्किएको थियो। सुमो काठमाडौंबाट वीरगन्जतर्फ गइरहेको थियो।
ठक्करपछि घाइते तीनै जनालाई तत्काल उद्धार गरी उपचारका लागि एलएस न्यूरो अस्पताल पुर्याइएको थियो। उनीहरूको अवस्था मध्यम रहेको र अभिभावकको उपस्थितिमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि सुमो र स्कुटर प्रहरीको नियन्त्रणमा रहेको छ। दुर्घटनाको कारण तथा घटनासम्बन्धी थप विवरणबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।


