गरुडाको प्रशासकीय भवनको नगर प्रमुख जयसवालले गरे शिलान्यास

साझेदारी दैनिक
248 पाठक संख्या

करण कुमार मिश्र/

रौतहट जिल्लाको गरुडा नगरपालिकाले आफ्नो प्रशासकीय भवन निर्माण सुरु गरेको छ ।

नगरपालिकाको वडा नं.-४ गरुडा बैल बजार स्थित निर्माण गरिने भवनको शुक्रबार एक कार्यक्रमबीच नगरप्रमुख कन्थमनी प्रसाद जयसवालले शिलान्यास गरेका हुन् ।

पालिका बनेदेखि नै अस्थायी भवनमा बसेर सेवा दिँदै आएको पालिकाले अब भने प्रशासनिक भवन बनाउने भएको छ ।

भवन ३ तल्ले बन्ने योजना रहेकोमा तत्काल १ तल्ले भवनको स्टिमेट गरी कार्य अगाडी बढाइएको नगर प्रमुख जयसवालले बताए ।

प्रशासकिय भवनको लागी बोलपत्र आह्वान गरेकोमा सवैभन्दा कम मुल्यमा श्रेष्ठ बटुक भैरव जेवी पर्साले ३ करोड ३३ लाखमा भवन निर्माण सम्पन्न गर्नेगरी ठेक्का साकार गरेका छन ।

भवन निर्माणका लागी आवश्यक सहयोग,समन्वय,बजेट विनियोजन लगायतमा कुनै कमी हुन नदिने बताउदै नगर प्रमुख जयसवालले“तोकिएको समय अवधिभित्र गुणस्तरीय मापदण्ड कायम गरेर काम सम्पन्न गर्न निर्माण व्यावसायी लाई आग्रह गरे।

नयाँ बन्ने भवनमा नगरपालिकाको प्रशासनिक कार्य सञ्चालनका लागि सुविधा सम्पन्न एक तल्ले भवनमा घेरावेरा सहितको १४ वटा कोठा हुने उनले बताए । जनताले सेवा पाउन समस्या देखेर पहिलो बर्षमै नयाँ भवन निर्माणको लागी कार्य अगाडी बढाइएको समेत बताए ।

भवन शिलान्यास गर्दै नगरप्रमुख जयसवालले भवन निर्माणपछि नगरपालिकाका सबै शाखा एउटै भवनमा रहने र प्रदान गरिने सेवासमेत प्रभावकारी हुने बताए ।

नगरपालिकाका उपनगरप्रमुख पुनम चौधरीले विकाससँग जोडिएको प्रशासकीय भवन निर्माण गर्न सबैको सहयोग र साथ आवश्यक रहेको बताइन् ।

Leave a review

This will close in 0 seconds