वीरगञ्ज : नेपाली राजनीतिज्ञ तथा विचारक प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसरमा प्रदीप गिरी इन्स्टिच्युट (एन्क्ष्)ले भदौ ७ गते शनिबार वीरगञ्जमा विशेष कार्यक्रम गर्ने भएको छ।
इन्सीच्युटले शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएको हो। “उत्साह र सङ्घर्षको आलोकमा ः प्रदीप गिरिको सम्झना” शीर्षकमा उक्त कार्यक्रम वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा हुने भएको हो। कार्यक्रममा नेपाल र भारतका मित्र, राजनीतिक अगुवा, विचारक, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।
पहिलो चरणमा प्रदीप गिरिप्रति श्रद्धाञ्जलि अर्पण तथा उनको जीवन र विचारमाथि आधारित वृत्तचित्र प्रदर्शन हुनेछ। दोस्रो चरणमा स्वागत तथा स्मरण मन्तव्य रहनेछ। तेस्रो चरणमा राजनीति, अर्थतन्त्र, संस्कृति र क्षेत्रीय सम्बन्धबारे प्यानल छलफल हुनेछ।
छलफलमा सीमावर्ती क्षेत्रको ऐक्यबद्धता, आर्थिक सहकार्य, साझा संस्कृति र युवालाई नवप्रवर्तनतर्फ उन्मुख गराउने विषयमा विचार–विमर्श हुने जानकारी
संयोजक कन्चन झाले दिए।
पत्रकार सम्मेलनमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, पत्रकार सुष्मा शर्मा लगायतको उपस्थिति रहेको थियो।

