विद्यालयको डेस्क ब्रेन्च खरिदको बजेट प्रअले पारे झ्वाम

साझेदारी दैनिक
405 पाठक संख्या

रौतहट,ओम प्रकाश यादव/

रौतहटको एक दलित प्राविको डेस्क ब्रेन्च खरिदमा व्यापक भ्रष्टाचार भएको खुलासा भएको छ ।

जिल्लाको फतुवा विजयपुर नगरपालिका–१ शितलपुरमा रहेको दलित प्राथमिक विद्यालयमा ब्रेन्च डेस्क खरिद गर्नका लागि नगरपालिकाले छुट्याएको रकममा व्यापक भ्रष्टाचार भएको हो ।

नगरपालिकाले विद्यालयको बालबालिकाहरुको बस्नका लागि डेस्क ब्रेन्च खरिदका लागि फतुवा विजयपुर नगरपालिकाले गत वर्ष ४ लाख भन्दा बढी रकम बिनियोजन गरेको थियो। तर विद्यालयका प्रधानाध्यापक राजेन्द्र हजराले एउटा पनि ब्रेन्च डेस्क खरिद नै नगरि उक्त चार लाख रुपैया रकम अनियमितता गरेको खुलेको छ ।

प्रधानाध्यापक हजराले जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा विद्यालयको उक्त रकममा ब्रहमलुट मच्चाएको भन्दै उनिहरुमाथि कानुनी कार्यवाही हुनुपर्ने माग स्थानीयहरुले गरेका छन ।

नगरपालिकाका शिक्षा संयोजक राजेश यादवले आइतबार विद्यालयमा अनुगमन निरीक्षण गर्न पुग्दा विद्यालयमा एउटा पनि ब्रेन्च डेस्क नरहेको र विद्यार्थीहरु भुइँमा बोरा ओछ्याएर पढ्न बाध्य रहेको पाएपछि उक्त रकम भ्रष्टचार भएको खुलेको हो।

नगरपालिकाले गत बर्ष ब्रेन्च डेस्क खरिद गर्न उक्त विद्यालयलाई ४ लाख भन्दा बढी रकम उपलब्ध गराएको तर विद्यालयमा ब्रेन्च डेस्क नै खरिद नगरि प्रधानाध्यापक हजराले आर्थिक अनियमितता गरेको शिक्षा संयोजक यादवले बताएका छन ।

प्रधानाध्यापक हजराले एक वर्ष देखि दिवा खाजा समेत नखुवाइ दिवा खाजाको रकम पालिकाबाट बुझेको समेत पाइएको छ । प्रधानाध्यापक हजराले दिवा खाजाको रकममा समेत व्यापक भ्रष्टाचार गरेको खुलेको हो ।

बिना नियम प्रक्रिया पूरा गरि पावरको बलमा २ वर्ष अघि प्रधानाध्यापक बनेका हजरा विद्यालय सञ्चालनका लागि उपलब्ध गराउने रकममा ठूलो आर्थिक अनियमितता गर्दै आएका छन ।

लालबकैया नदिको किनारमा झण्डै १७ वर्ष अघि दलित प्राथमिक विद्यालय स्थापना भएको विद्यालयमा भवन, ब्रेन्च डेस्क र शौचालय केही पनि छैन ।

विद्यालय स्थापना भएको १७ वर्ष बितेपनी अझै विद्यालयको भवन निर्माण हुन नसक्दा बिना टाटीको टाएलको घरमा सञ्चालित उक्त विद्यालयमा बिद्यार्थीलाई बस्न एउटा पनि ब्रेन्च र डेस्क छैन । त्यति मात्र होइन विद्यालयमा शौचालय पनि छैन ।

ब्रेन्च डेस्क नहुँदा बिद्यार्थीहरु भुइँमा बोरा ओछ्याएर पढ्ने गरेका छन । शौचालय नहुँदा शिक्षक र विद्यार्थीहरु दिशा पिशाव गर्न खेतमा जानुपर्ने बाध्यता रहेको छ ।

तर दैनिक मुस्किलले २५ देखि ३० जनासम्म विद्यार्थी मात्र पढ्न आउने गरेका छन। भने प्रधानाध्यापक सहित चार जना शिक्षक र तीन जना बालबिकास शिक्षिका गरि कुल ७ जना शिक्षक रहेका छन ।

Leave a review