फर्मासिष्ट को हुन्? र नेपालमा फार्मेसी पेसाको अवस्था कस्तो छ ?

साझेदारी दैनिक
511 पाठक संख्या

लेखक फा.धर्मनाथ कुमार यादब

बुधवार सेप्टेम्बर २५ अर्थात् विश्व फर्मासिष्ट दिवस’, फर्मासिष्टहरूका लागि विशेष दिन हो। फर्मासिष्टहरु विश्वव्यापी स्वास्थ्य आवश्यकताहरु पूरा गर्दै भन्ने नाराका साथ यस वर्ष नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

विश्वमै स्वास्थ्य क्षेत्र अत्यन्त सम्मानित एवम् संवेदनशील क्षेत्र हो फार्मेसी। औषधी विनाको स्वास्थ्य क्षेत्र वा उपचार सम्भव पनि छैन र कल्पना गर्न पनि सकिदैन, त्यो तपाई –हामी सबैले बुझेको कुरा हो ।

खोपलाई समेत जोडेर हेर्दा औषधी नचाहिने मानिस कोहि छैनन्। बच्चा गर्भमा रहे देखि लिएर जन्मिएर पूरा जीवन कटाई मृत्युवरण गर्दा सम्म हामी औषधीको सहयोग लिइरहेका हुन्छौं। अनि त्यहीँ औषधीसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्ती हुन फर्मासिष्ट अर्थात औषधी विज्ञ।

औषधी सम्बन्धी अनुसन्धान र विकास देखि त्यसको उत्पादन,गुणस्तर परीक्षण,सञ्चय,बिक्री वितरण,परामर्श एवम् फर्माको भिजिलेन्स र एडभर्स ड्रग रियाक्सन रिपोर्टिङ गर्ने ज्ञान भएको दक्ष जनशक्ति हुन फर्मासिष्ट ।

विभिन्न अध्ययनहरु लाई हेर्दा औषधी खान नपाएर भन्दा औषधी खाएर मर्ने तथा शरीरमा नकरात्मक असर पर्नेहरुको सङ्ख्या बढी देखिन्छ। ऐन्टिबायोटिक्स जस्तो जीवन रक्षक औषधीले बिस्तारै काम गर्न छाडेको विश्वको प्रमुख समस्याको रूपमा देखिन्छ ।

कारण हो औषधी को विवेकपूर्ण प्रयोग नहुनु,आफू खुशी औषधीको प्रयोग गर्नु,चिकित्सक र फर्मासिष्टले दिएको सल्लाह नमान्नु,औषधी प्रयोग गर्दा अपनाउन पर्ने सावधानी नअपनाउनु र औषधीको बिक्री वितरण गैरफर्मासिष्टले गर्नु ।

औषधीको विवेक पूर्ण प्रयोगलाई ख्याल नगरी अन्धा –धुन्ध प्रयोग गर्दै जाने हो भने औषधीले बिस्तारै काम गर्न छाडदै जाने र नयाँ प्रभावकारी औषधी बन्न नसक्ने हो भने स्वास्थ्य क्षेत्रमा एक समय संङ्कटकाल नआउला भन्न सकिदैन ।

त्यसकारण औषधीको सही र विवेक पूर्ण प्रयोग तर्फ सम्बन्धीत सम्पूर्ण निकायले समयमा नै ध्यान पु¥याउनु जरुरी छ ।

विश्वभरी विकसित देशहरूको उदाहरण हेर्ने हो भने औषधी सम्बन्धी उत्पादन,खरिद,वितरण नियमन आदि कार्यमा सम्बन्धीत दक्ष जनशक्ति फर्मासिष्टलाई सदुपयोग गरी स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाएको देख्न सकिन्छ ।

हाम्रो देशमा औषधी सम्बन्धी ऐन,कानुन,नीति,नियमहरु त छन् तर विडम्बना त्यो लागू हुन सकेको छैन। केबल कागजमा मात्रै सीमित छ।

स्वास्थ्य ऐन २०७१ मा पनि औषधीको अनुगमन,खरिद र वितरण व्यवस्थालाई प्रभाकारी बनाउन खरिद एवम् आपूर्ति व्यवस्थालाई सुदृढ तुल्याउने दक्ष फर्मासिष्ट जनशक्तिको संलग्नता गराइन्छ भने स्पष्ट उल्लेख गरिएको छ ।

औषधी ऐन २०३५ ले त औषधी बिक्री वितरणमा फर्मासिष्ट र सहायक फर्मासिष्टको अनिवार्य उपस्थित हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। तर त्यो ऐन पुर्णरूपमा लागू भएको छैन ।

अझै पनि सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरुमा फर्मासिष्टले गर्नुपर्ने काम गैर फर्मासिष्टहरु बाट गरिएको अवस्था छ। फार्मेसी बारे सचेतनाको कमीले होस् वा अन्य कारणले, हाम्रो समाजसँगै स्वास्थ्य मन्त्रालयले पनि फार्मेसी पेशालाई अभिन्न स्वास्थ्य जनशक्तिको रुपमा नहेरेको जस्तो देखिन्छ ।
तस्वीरः
राज्यले फार्मेसी पेशाको महत्व नबुझ्दा र दक्ष फार्मेसी जनशक्तिलाई उनीहरूको कामबाट वञ्चित गराउँदा कतै औषधी नपाएर बिरामीको मृत्यु भएको,कतै भण्डारण मै औषधीको म्याद नाघेको,खरिद गरिएको औषधी गुणस्तरहीन भएको,औषधी र औषधी सामग्री खरिदमा करोडौं रूपैयाँ बेरुजु भई सरकारलाई वार्षिक अर्बौं रूपैयाँको नोक्सान भएको समाचार विभिन्न सञ्चार माध्यमबाट सुनिरहेको हुन्छौं ।

मानव जीवनमा प्रत्यक्ष सरोकार राख्ने औषधि जस्तो संबेदनसिल क्षेत्रको विकासको लागी,औषधीको उत्पादन बढाई देशलाई औषधीमा आत्मनिर्भर बनाउन र संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको गुणस्तरीय स्वास्थ्य सेवा जनताको माझमा पु-याउनको लागि फार्मेसी जनशक्तिलाई सम्बन्धित कार्यमा व्यवस्थित गर्नु जरुरी छ ।

त्यसको लागि फार्मेसी पेशाप्रती रहेको राज्यको भ्रमलाई चिरी औषधि सम्बन्धी बनेको ऐन,नीति,नियम,निर्देशिका कार्यान्वयन गराउन जरुरी छ।

त्यसको लागि फार्मेसी पेशामा आबद्ध सम्पूर्ण जनशक्तिहरु र फार्मेसी पेशासँग सम्बन्धित संघ संस्थाहरु एक जुट भइ विश्वव्यापी नारा जहाँ औषधी त्यहाँ फर्मासिष्ट राइट म्यान राइट प्लेस लाई कार्यान्वयन गराउनु जरुरी देखिन्छ ।

फर्मासिष्ट दिवस को लाखौं लाख शुभकामना । यो लेखकको निजी विचार हो,उनी प्रादेशिक अस्पताल कलैया,बारामा कार्यरत छन् ।

Leave a review

This will close in 0 seconds