वीरगञ्ज: नेपाल पत्रकार महासंघ पर्सा र वीरगञ्ज कलेज,बीच सात बुँदे सम्झौतापत्रमा एक कार्यक्रमवीच बिहीबार हस्ताक्षर भएको छ।
महासंघ पर्साको सभाहलमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।सम्झौता अनुसार पत्रकारिता अध्ययन गर्न चाहने महासंघ पर्साका सदस्य एवम् सञ्चारकर्मीलाई कलेले प्रतिवर्ष कुल पाँच हजारमा कक्षा ११ र १२ वीरगञ्ज स्कूल मार्फत अध्ययन गराउने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले तोकेको रजिष्ट्रेशन,परीक्षा शुल्क तथा प्रमाण पत्र शुल्क विद्यार्थीले वहन गर्नुपर्ने सम्झौतामा लेखिएको छ। पर्सा जिल्लाको शैक्षिक सामाजिक र अर्थराजनीतिक क्षेत्रमा सहकार्य गर्नका लागि दुवै पक्षलाई यस सम्झौताले प्रतिबद्ध बनाएको बताइएको छ।
सम्झौतामा पर्सा जिल्लाको शैक्षिक क्षेत्रको सुधारको लागि विभिन्न बहस र अन्र्तक्रियाको आयोजना गर्ने कुरा लेखिएको छ। पत्रकारिता क्षेत्रमा कार्यरत पत्रकारहरूको दक्षता अभिवृद्धि र विकासका लागि पनि दुवै संस्थाले सहकार्य गर्ने छन्।
यसका अतिरिक्त वीरगञ्ज कलेजमा पत्रकारिता अध्ययनको व्यवस्था मिलाउने छ। पर्सा जिल्लामा कार्यरत पत्रकारहरूको क्षमता वृद्धिका लागि पहल गरिनेछ। महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल र वीरगञ्ज कलेजका अध्यक्ष दिपेन्द्र चौधरीले हस्ताक्षर गरेका थिए।

