जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.९ स्थित दलित बस्ती रामटोलमा २५ वटा घरको शिलान्यास गरेको छ ।
आवासका लागि सहयोग समूह ‘लुमन्ती’ ले निर्माण गर्न लागेको उक्त घरहरुको उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले शिलान्यस शुक्रबार गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख राजन पौडेलले परम्परागत कुरालाई आधुनिकतासँग जोड्दै लैजानुपर्नेमा जोड दिनुभएको छ । उहाले पहिला पहिला बन्ने गरेका फुस,माटो तथा टाँलीका घरहरुलाई आधुनिकतासँग जोडेर निर्माण गर्नुपर्नेमा जोड दिए ।
लुमन्तिले घर निर्माणमा प्रयोग गर्ने प्राय सामग्रीहरु स्थानीय स्तरमै पाउँने र स्थानीय जनशक्तिकै प्रयोग गर्ने गरेका कारण यसका कार्यहरु अनुकरणीय रहेको बताए । लुमन्तिले घर निर्माणमा प्रयोग गर्ने जनशक्तिहरुको पारिश्रमिक बैकिङ्ग माध्यमबाट दिने गरेको र प्यान कार्ड होल्डर हुनुपर्ने नियम सराहनीय रहेको भन्दै प्रशंसा ब्यक्त गरेका छन ।
उहाले लुमन्तिका यस्ता कार्यको जीतपुरसिमरा उपमहानगरपालिका पनि आफनो कार्यहरुमा लागु गर्नतर्फ सोच बनाएको बताए । लुमन्तिले निर्माण गर्ने घर ५० बर्षसम्म टिक्ने अनुमान गरिएको लुमन्तिका जीतपुरसिमरा उपमहानगरका कार्य क्षेत्र संयोजक अब्दुल कैसले जानकारी दिए ।
बर्षौदेखि टुटेको तथा भत्केको माटो र खरले बनाईएको घरमा जसोतसो आफनो गुजारा चलाउँदैँ आएका दलित परिवारकोलागि लुमन्तिले उपमहानगरपालिकासँग सहकार्य गरेर बाँसको घर निर्माण गर्न लागेको उनले बताए । प्रत्येक घर लुमन्ती संस्थाको रु.दुई लाख २० हजार र जीतपुरसिमरा उपमहानगरपालिकाको रु.एक लाखको लागतमा गरी कुल रु ३ लाख २० हजारको लागतमा निर्माण हुने लुमन्तिका समाजिक परिचालक रबि तिवारीले जानकारी दिए ।
लुमन्तिले उपमहानगरपालिकाको वडा नं.१९ मा २७ वटा घर निर्माण गरेको छ । त्यस्तै वडा नं.११ र २० मा पनि लुमन्तिले घर निर्माण गर्ने योजना रहेको जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकामा लुमन्तिले कुल १ सय ४० वटा घर निर्माण गर्ने योजना रहेको छ । लुमन्तीले देशका बिभिन्न ठाउमा स्थानीय तहसँग समन्वय गरी कम लागतमा भुकम्प प्रतिरोधात्मक,बलियो र बाताबरण अनुकुल बाँसको घर निर्माण गर्ने गरेको छ ।

