जीतपुरसिमराको नगरसभा फेरि अन्योलमा बजेट बांडफाँडमा सहमति नहुँदा दोस्रो पटक स्थगन

रञ्जन यादव
277 पाठक संख्या

जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा अन्योलमा परको छ । तय गरिएको मितिमा फेरि दोस्रो पटक पनि स्थगित भएपछि नगरसभा अन्योलमा भएको हो ।

आज बुधबार (असार १८ गते) तय गरिएको नगरसभा बैठक स्थगित भएको हो । जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत शान्तिराज प्रसाँईले एक सूचना जारी गर्दै २०७५ सालको नगरसभा सञ्चालन नियमावली अन्तर्गत नियम ३ को उपनियम (६) बमोजिम यसअघि आह्वान गरिएको नगरसभाको दोस्रो बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

असार १८ गते बुधबार दिउँसो १ बजे सिमरा स्थित क्लासिक प्लाजा होटलमा सञ्चालन हुने तय गरिएको थियो । तर नगर प्रमुखस्तरीय निर्णयअनुसार बैठक स्थगित गरिएको प्रमुख प्रशासकिय अधिकृत प्रसाँईले जारी गर्नुभएको सूचनामा भनिएको छ ।अर्को सुचना नभएसम्मकोलागि बैठक स्थगित गरिएको जानकारी दिएको छ ।

मेयर र वडा अध्यक्षहरूबीच बजेटको सिलिङ तोक्ने विषयमा सहमति जुट्न सकेको छैन। यसअघि असार ९ गतेको नगरसभा बैठक पनि बजेट बांडफाँडमा विवादका कारण स्थगित गरिएको थियो। मंगलबार भएको छलफलमा पुनः विवाद चर्किएपछि नगरसभा प्रभावित हुने निश्चित भएपछि स्थगीत भएको हो ।

मेयर राजन पौडेलले कुल ३० करोड रुपैयाँको बजेटलाई आधार बनाएर त्यसको ३५% नगरस्तरीय योजनाका लागि,५०% वडा अध्यक्षहरूको भागमा र बाँकी १५% उपमेयर र अन्य कार्यपालिका सदस्यहरूका लागि विनियोजन गर्न प्रस्ताव गरेका थिए।

सो अनुसार वडाहरूले १५ करोड,मेयरको योजनामा १० करोड ५० लाख र उपमेयर तथा कार्यपालिका सदस्यहरूले ४ करोड ५० लाख बजेट पाउने प्रस्ताव गरिएको थियो। तर वडा अध्यक्षहरूले उक्त बाँडफाँड स्वीकार गर्न अस्वीकार गर्दै २७ करोड रुपैयाँ वडास्तरमै खर्च गर्नुपर्ने माग गरेका छन्।

यही असहमतिको कारण नगरसभा फेरि पनि अवरुद्ध हुने सम्भावनालाई देखेर स्थगीत भएको हो । उपमेयरसहित वडाध्यक्षहरूमा एमालेको बहुमत रहेको छ ।

Leave a review

This will close in 0 seconds