कलैया सिद्धेश्वर खेल मैदानको व्यवस्थापन र विकासका लागि सिंहले गराए मन्त्री गुप्ताको ध्यानाकर्षण

संदिप प्रसाद यादव
390 पाठक संख्या

कलैया । बाराको कलैयास्थित सिद्धेश्वर खेल मैदानको व्यवस्थापन र विकासका लागि कलैया उपमहानगरपालिका वडा नं.५ घुसुकपुर निवासी शुभम सिंहले मन्त्रीको ध्यानाकर्षण गराएका छन्।

सिंहले नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको ध्यानाकर्षण गराएका हुन्।

ध्यानाकर्षण पत्रमा सिंहले बारा जिल्ला नेपालको खेलकुद इतिहासमा अत्यन्तै महत्वपूर्ण स्थान ओगटेको जिल्ला रहेको लेखेका छन्। यस जिल्लाबाट विभिन्न कालखण्डमा राष्ट्रिय स्तरका क्रिकेट खेलाडीहरू, प्रशिक्षकहरू र खेलप्रेमीहरूको उदय भएको तथ्य सर्वविदित छ।

यिनै खेलाडीहरूको अभ्यास र स्थानीय खेलकुद गतिविधिको केन्द्रबिन्दुका रूपमा कलैयाको सिद्धेश्वर खेल मैदान लामो समयदेखि रहँदै आएको ध्यानाकर्षणपत्रमा लेखिएको छ।

हाल उक्त मैदानको व्यवस्थापन र पूर्वाधार अवस्था अत्यन्त जर्जर रहेको छ। खेल मैदानमा पर्याप्त सरसफाइ, सिँचाइ, दर्शकदीर्घा, वार्मअप क्षेत्र, शौचालय, र प्रशिक्षण उपकरणहरूको अभावका कारण खेलाडीहरू अभ्यासमा समस्या भोगिरहेको पत्रमा लेखिएको छ।

कलैया क्रिकेट क्लबले आफ्नो प्रयासमा केही क्रियाकलाप सञ्चालन गरिरहेको भए तापनि, सरकारी सहयोग बिना उक्त मैदानलाई व्यवस्थित रूपमा सञ्चालन र विस्तार गर्नु असम्भव देखिन्छ पत्रमा भनिन्छ।

त्यसैले बारा जिल्ला र विशेषतः कलैयाका खेलाडीहरूलाई अझ प्रेरित गर्नका लागि कलैया सिद्धेश्वर खेल मैदानलाई व्यवस्थित खेलकुद पूर्वाधारका रूपमा विकास गर्ने योजना सरकारले आगामी बजेटमा छुट्याइदिन अनुरोध गरिएको छ।

स्थानीय युवा, खेलाडी तथा खेलकुदप्रेमीहरूको प्रतिनिधित्व गर्दै सबैको साँझा आवाज बनेर यो पत्र बुझाएको उनले लेखेका छन्। तपाईंको पहलले यस क्षेत्रमा खेलकुदको विकासमा नयाँ ऊर्जा र आशा जाग्नेछ भन्ने कुराको विश्वास पत्रमा लेखिएको छ।

Leave a review