जीतपुर : चिसो मौसमलाई मध्यनजर गर्दै जीतपुरसिमरा उपमहानगरपालिका–७, जीतपुरमा रहेको शिवशक्ति ध्यु उद्योगले १ सय १० घरधुरीलाई न्यानो कम्बल वितरण गरेको छ।
वडा नं. ७ भित्रका दलित, विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई प्राथमिकतामा राखी कम्बल वितरण गरिएको उद्योगका प्रशासनिक अधिकृत प्रमोद पटेलले जानकारी दिनुभयो। उद्योगले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष जाडोयाममा यस प्रकारका राहत सामग्री वितरण गर्दै आएको उहाँको भनाइ छ।
चिसोका कारण बालबालिका, वृद्धवृद्धा तथा कमजोर वर्गलाई स्वास्थ्य समस्या नहोस् भन्ने उद्देश्यले कम्बल वितरण कार्यक्रमलाई निरन्तरता दिइएको पटेलले बताउनुभयो।
कम्बल वितरण कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष सुनिल गुप्ताले शिवशक्ति ध्यु उद्योगको सामाजिक कार्यप्रति खुशी व्यक्त गर्नुभयो। निजी उद्योगले समुदायप्रति देखाएको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले यस्ता कार्यले समाजमा सकारात्मक सन्देश जाने बताउनुभयो।
वडा अध्यक्ष गुप्ताले उद्योगले यसअघि पनि शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएको जानकारी दिँदै विगत दुई वर्षदेखि वडा भित्र रहेको फकिरा गिरी–राजेश्वर गिरी माध्यमिक विद्यालयमा शिक्षक अभाव पूर्ति गर्न तलबको व्यवस्था गरिदिएको स्मरण गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य र विपन्न समुदायको जीवनस्तर उकास्न यस्ता सामाजिक कार्य प्रभावकारी हुने भन्दै अन्य उद्योगी तथा व्यवसायीहरूलाई पनि अनुकरण गर्न आग्रह गर्नुभयो।
कम्बल प्राप्त गरेपछि स्थानीय बासिन्दाहरूले चिसो मौसममा राहत महसुस भएको प्रतिक्रिया दिएका छन्। उद्योगको सहयोगले कठिन अवस्थामा रहेका परिवारलाई ठूलो सहारा पुगेको उनीहरूको भनाइ छ।


