कलैया । बाराको कलैया उपमहानगरपालिका-५ दरबार टोलमा लालबाबु यादवले संचालन गरेको हिमानी पार्टी प्यालेसमा आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार वीरगञ्जस्थित नबिल बैंक बिरगंज शाखामा मार्केटरका रूपमा कार्यरत ३५ वर्षीय शैलेन्द्र ठाकुर उक्त पार्टी प्यालेसको कोठा नम्बर–६ को बेडमुनि अचेत अवस्थामा फेला परेका हुन् ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले जाँच गर्दा उनको मृत्यु भइसकेको पुष्टि भएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन् । मृतक ठाकुर सप्तरी जिल्लामा घर भई हाल पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–३ प्रगति नगरमा बसोबास गर्दै आएका प्रहरीले जनाएको छ ।
सोही कोठामा जिल्ला प्रशासन कार्यालय बारामा कार्यरत कार्यालय सहयोगी राजेशराज उपाध्याय पनि उपस्थित रहेको प्रहरीले जनाएको छ ।प्रारम्भिक अनुसन्धानबाट दुवै जनाले राति कोठाभित्र नाकमार्फत ‘खैरो जस्तो देखिने पदार्थ’ सेवन गरेको खुलेको र त्यसको ओभरडोजका कारण ठाकुरको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको प्रहरीले जनाएको छ।

