रास्वपा सदस्यले गल्ति गरे कारवाही हुन्छ : मधेस प्रदेश सभापति यादव

साझेदारी डेलि
343 पाठक संख्या

कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सदस्यहरूले गल्ति गरे कारवाही गरिने चेतावनी रास्वपा मधेस प्रदेशका सभापति तपेश्वर यादवले दिएका छन्। बाराको कलैयास्थित रास्वपा बाराको जिल्ला कार्य समिति कार्यालयको सभाहलमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गल्ति गर्ने कार्यकर्तालाई कुनै छुट नरहेको स्पष्ट गरेका हुन्।

उद्योग वाणिज्य विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र अनुशासन र पारदर्शिता अनिवार्य रहेको जनाएका हुन्। हाल भ्रष्टाचार सम्बन्धी विभिन्न फाइलमा धमाधम पक्राउ भइरहेको उनले जानकारी दिए। राजनीतिक नियुक्ति लिएका करिब ११ सय जनाको सूची तयार भइरहेको जनाउदै छानबिनमा दोषी नदेखिएका व्यक्तिहरूलाई तुरुन्तै छुट दिइने जानकारी दिए। अरूलाई आरोप लगाउनु अघि आफैं अनुशासित बन्नुपर्ने उनले सुझाव दिए।

रास्वपाको मुख्य एजेन्डा भ्रष्टाचारमुक्त शासन रहेको उनको तर्क थियो। सुशासन कायम गर्न आवश्यक रहेको जनाउदै उनले पार्टीका सदस्यहरूलाई कुनै गल्ती नगर्न सचेत गराए। भोलि कारबाही भयो भन्ने सुन्नुपरेमा सबैभन्दा बढी दुःख आफुलाई लाग्ने उनको थियो। “११ वर्षमा हुन नसकेको काम हामीले ११ दिनमै गरेका छौं” उनले दावी गरे।

आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनको तयारीमा जुट्न उनले आग्रह गरे। प्रतिस्पर्धाबाट चयन भएका उम्मेदवारलाई सबैले सहयोग गर्नुपर्ने बताउदै “चुनाव हराउनेतर्फ होइन, जिताउनेतर्फ लाग्नुपर्छ, पालो सबैको आउँछ,” उनले भने। पार्टीभित्र ‘राइट टु रिकोल’ को व्यवस्था छ। आवश्यक परे प्रतिनिधिलाई फिर्ता बोलाउन सकिने पनि उनले बताए ।

सोही कार्यक्रममा उद्योग वाणिज्य विभाग, कलैया उपमहानगरपालिका समितिका पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। अजयकुमार साहको अध्यक्षतामा उपाध्यक्षमा राजेश कुमार रहने गरी ११ सदस्यीय समिति गठन भएको रास्वपा बाराका अध्यक्ष चन्दन स्वर्णकारले बताए। उद्योग विभागका सदस्यहरूमा राजनकुमार केशरी, जटा शंकर सरार्फ, दीपुप्रसाद गुप्ता, सुनिल कुमार साह, संजय कुमार कापर, प्रियंका पटेल, सीता देवी कुर्मिन, बन्दिता जैसवार र ललिता कुमारी रहेका छन्।

सोही कार्यक्रममा बोल्दै सभापति स्वर्णकारले समिति २०८२ फागुन मसान्तमै गठन भएको जनाए। समितिले अहिले पूर्णता पाएको उनले जानकारी दिए। बाराका साना तथा मझौला व्यवसायीहरूको समस्या समाधानमा ध्यान दिन आग्रह गरे। चाडपर्व नजिकिँदै गर्दा अनावश्यक जाचको नाममा व्यापारीलाई आतंकित नगर्न उनले आग्रह गरे। स्थानीयलाई आफ्नै बजारमा किनमेल गर्न र छिमेकी मुलुकतर्फ नजान अनुरोध गरे। बारामा उद्योग वाणिज्य संघका रूपमा सिम्रौनगढ, कोल्हवी, बरियारपुर, जितपुरसिमरा र प्रसौनी क्षेत्रमा संरचना रहेको उनले जानकारी दिएका छन्।

कार्यक्रममा संजय कुमार पटेल,अनिल कुमार साह,लाल मुकेश ठाकुर,कृष्ण कुमार गुप्ता,बाबू योगेन्द्र कुमार,महम्मद ज्याउदिन अन्सारी,उमेश महतो कुशवाहा,रामपुकार साह,महेन्द्र साह तेलि,उदय कुमार ठाकुर,करण कुमार कुशवाहा,आनन्द कुमार यादव लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन संजय पटेलले गरेका थिए।

Leave a review

This will close in 0 seconds