बारा । सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति कृष्ण ढकालले राष्ट्रको आवश्यकता भन्दा माथि व्यक्तिगत स्वार्थ हुन नसक्ने बताएका छन्। बाराको कलैया उपमहानगरपालिका–१६ उत्तर झिटकैयास्थित सशस्त्र प्रहरी बल नम्बर १२ गण मुख्यालयको प्राङ्गणमा आज आयोजित १९ औँ स्थापना दिवस तथा विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले संगठनको मजबुती अनुशासित, दक्ष र पेशेवर जनशक्तिमा निर्भर रहने उल्लेख गर्दै इमान्दार, सेवा भावले प्रेरित र उच्च अनुशासनमा रहने जनशक्तिले नै संगठनको आधार निर्माण गर्ने बताए। बाहिनीपति डिआईजी ढकालले संगठनप्रति समर्पण भावका साथ नीति–निर्देशनलाई सिरोधार्य गर्दै जिम्मेवारी निर्वाह गर्न सबै दर्जाका कर्मचारीलाई निर्देशन दिएका छन्। साथै, सशस्त्र प्रहरी बल नेपालले छोटो समयमै गौरवपूर्ण इतिहास निर्माण गर्दै राज्यको भरपर्दो सुरक्षा निकायका रूपमा आफूलाई स्थापित गर्न सफल भएको उनले बताए।
उनका अनुसार सीमा सुरक्षा, आन्तरिक शान्ति–सुरक्षा, विपद् व्यवस्थापन तथा राजस्व अभिवृद्धिजस्ता जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। प्राकृतिक प्रकोप, महामारी लगायतका चुनौतीबीच पनि संगठनले उल्लेखनीय कार्य गर्दै आएको उनले बताए।
कार्यक्रममा उनले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउन योगदान पुर्याउने प्रमुख जिल्ला अधिकारीसहित सम्पूर्ण सुरक्षा निकायप्रति धन्यवाद व्यक्त गरे। त्यसैगरी, देशकै उत्कृष्ट युनिट ट्रफीबाट सम्मानित भएकोमा गणप्रति आभार प्रकट गरेका छन्। नम्बर १२ गणले बारा क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न र समुदायसँग सहकार्य गर्न उल्लेखनीय योगदान दिएको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि ढकालले केक काट्नुका साथै बेलुन उडाएर स्थापना दिवसको उद्घाटन गरेका थिए। सो अवसरमा सशस्त्र प्रहरीका जवानहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी, निर्वाचनमा योगदान पुर्याउने सुरक्षाकर्मी तथा विभिन्न प्रतियोगिताका विजेतालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र कुमार साह, कलैया उप–महानगरपालिकाका प्रमुख बिनोद साह,जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई,अवकाश प्राप्त सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्मचार्य,राष्ट्रिय अनुसन्धानका उप-निर्देशक सरोज निरौला,रिपुमर्दन गणका प्रमुख सेनानी गिरिराज गौतम,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डित,सशस्त्र प्रहरी बल, नेपाल नं.११,१३ र ४० गणका गणपति,बिभिन्न संघ सस्था,उद्योग कलकारखानाका प्रमुख तथा प्रतिनिधि,अमर सशस्त्र प्रहरीका परिवारजनहरु,अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी तथा सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियोे । सो कार्यक्रमको संचालन सशस्त्र प्रहरी सहायक निरीक्षक गोविन्द चौधरीले गरेका थिए।

