जीतपुरसिमरामा लागुऔषध दुर्व्यसन, साइबर अपराध तथा आत्महत्या न्यूनीकरणसम्बन्धी दुई दिने सचेतनामूलक कार्यक्रम सम्पन्न

रञ्जन यादव
54 पाठक संख्या

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा लागुऔषध दुव्र्यसन, साइबर अपराध तथा आत्महत्या न्यूनीकरणसम्बन्धी दुई दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।उपमहानगरपालिकाको आयोजना, लुमन्ती आवासका लागि सहयोग समूहको सहकार्य तथा इलाका प्रहरी कार्यालय सिमरा र यश नेपालको सहजीकरणमा वडा नं. ९ र १९ मा कार्यक्रम सञ्चालन गरिएको हो।

बढ्दो लागुऔषध प्रयोग, अनलाइन ठगी, साइबर दुव्र्यवहार तथा मानसिक तनावका कारण आत्महत्याका घटनामा वृद्धि भइरहेका बेला स्थानीय समुदायलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमरा तथा मातहतका इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी प्रतिनिधिहरूले प्रशिक्षण दिएका थिए। उनीहरूले लागुऔषधको दुष्परिणाम, कानुनी पक्ष, किशोर–किशोरीमा पर्ने प्रभाव तथा यसबाट बच्ने उपायबारे जानकारी गराएका थिए।

साथै, साइबर अपराधअन्तर्गत सामाजिक सञ्जालमार्फत हुने ठगी, नक्कली (फेक) आईडी, अनलाइन ब्ल्याकमेल तथा बैंकिङ फ्रडलगायतका विषयमा पनि विस्तृत जानकारी प्रदान गरिएको थियो।

यश नेपालका प्रतिनिधिहरूले मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, पारिवारिक संवादको महत्त्व तथा आत्महत्या रोकथामका उपायबारे सहजीकरण गरेका थिए। उनीहरूले समस्या लुकाएर बस्नुको सट्टा परिवार, साथीभाइ वा सम्बन्धित निकायसँग खुला रूपमा संवाद गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा वडा नं. ९ र १९ का जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक, महिला समूह, युवा क्लब तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने र युवापुस्तालाई गलत बाटोतर्फ जानबाट रोक्न सहयोग पुग्ने बताएका छन्। स्थानीय तहले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave a review

This will close in 0 seconds