जीतपुरसिमरामा “घर–घरमा नगर अस्पताल” अभियान सुरु

रञ्जन यादव
56 पाठक संख्या

जीतपुर । स्वास्थ्य सेवा अब अस्पतालमै सीमित छैन। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सुरु गरेको “घर–घरमा नगर अस्पताल” कार्यक्रमले सेवा नै नागरिकको घरदैलोमा पु-याउने नयाँ अभ्यास थालेको छ। नगर प्रमुख राजन पौडेलको पहलमा सञ्चालनमा आएको यो अभियानले विशेषगरी गाउँका बासिन्दा, ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेको छ। अस्पतालसम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकका लागि यो कार्यक्रम राहत बनेको छ।

डाक्टर, स्वास्थ्यकर्मी र प्राविधिकसहितको टोली अहिले वडावडामा पुगेर घरमै स्वास्थ्य जाँच गरिरहेको छ। रक्तचाप र सुगर परीक्षणदेखि औषधि वितरण र परामर्शसम्मका सेवा घरमै उपलब्ध हुन थालेपछि स्थानीयवासी खुसी देखिएका छन्।

जनस्वास्थ्य निरीक्षक जाहिद हुसैनका अनुसार अभियानले मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगहरूको प्रारम्भिक पहिचानमा विशेष ध्यान दिएको छ। साथै, स्वास्थ्य बीमा कार्यक्रममा सहभागी गराउने र दीर्घरोगीहरूको नियमित निगरानी गर्ने काम पनि सँगै भइरहेको छ।

हाल दुई टोली परिचालन गरेर फरक–फरक वडामा सेवा विस्तार गरिएको छ। आवश्यक परे बिरामीलाई नगर अस्पतालमा रिफर गर्ने व्यवस्था पनि मिलाइएको छ। उपमहानगरपालिकाले यस अभियानलाई सबै वडामा नियमित बनाउने तयारी गरेको छ। छोटो अवधिमै वडा नं. ९ मा १५२ र वडा नं. १० मा २७५ गरी ४२७ जनाले सेवा लिइसकेका छन्।

स्थानीयका अनुसार घरमै स्वास्थ्य सेवा पुग्नुले समय, खर्च र झन्झट सबै घटाएको छ। स्वास्थ्य सेवा नागरिकको पहुँचभित्र ल्याउने लक्ष्यसहित सुरु गरिएको यो कार्यक्रमलाई उनीहरूले सकारात्मक कदमका रूपमा लिएका छन्।

Leave a review

This will close in 0 seconds