कलैया । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका मेयर सिंहलाई सातौँ दिन आज प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मेयर सिंह पर्साको ठोरी क्षेत्रमा लुकेर बसेको अवस्थामा विशेष सूचनाको आधारमा पक्राउ परेका हुन्। पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
गत १२ जेठमा स्थानीय लेयाकत अलीको जाहेरीका आधारमा जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह अदालत परिसर पुगेका थिए। तर, अदालतमा उपस्थित भएर कानुनी प्रक्रिया पूरा गर्नुको सट्टा फोटो खिची सामाजिक सञ्जालमा सार्वजनिक गराएपछि उनी सम्पर्कविहीन बनेका थिए। त्यसयता प्रहरीले उनको खोजी तीव्र बनाएको थियो।


