जीतपुरसिमरामा रुट परमिटबिनाका ई-रिक्सा र ई-लोडरमाथि कडा निगरानी, सोमबारदेखि जरिवाना

रञ्जन यादव
74 पाठक संख्या

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले दर्ता र रुट परमिटबिनै सञ्चालन भइरहेका ई–रिक्सा तथा ई–लोडरलाई कानुनी दायरामा ल्याउन सक्रियता बढाएको छ। नगर प्रहरीले ट्राफिक प्रहरीको सहकार्यमा जीतपुर र सिमराका विभिन्न स्थानमा सचेतनामूलक अभियान सञ्चालन गर्दै चालक तथा सवारीधनीलाई अनिवार्य दर्ता र रुट परमिटको व्यवस्थाबारे जानकारी गराएको हो।

उपमहानगरपालिका क्षेत्रमा पछिल्लो समय ई–रिक्सा र ई–लोडरको संख्या तीव्र रूपमा बढ्दै गए पनि धेरै सवारी साधन आवश्यक कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेको भन्दै नगर प्रहरीले निगरानी बढाएको जनाएको छ। अभियानका क्रममा चालकहरूलाई तत्काल आवश्यक कागजात पूरा गरी उपमहानगरपालिकामा दर्ता हुन तथा रुट परमिट लिन आग्रह गरिएको छ।

नगर प्रहरी इन्चार्ज रबिन खड्काले पहिलो चरणमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र आगामी सोमबारदेखि नियम उल्लंघन गर्ने सवारी साधनमाथि कानुनअनुसार दण्ड तथा जरिवाना प्रक्रिया सुरु गरिने बताए। उनका अनुसार दर्ता र रुट परमिटबिनाका सवारी साधनका कारण यातायात व्यवस्थापनमा चुनौती थपिएको, राजस्व संकलन प्रभावित भएको तथा यात्रुको सुरक्षासमेत जोखिममा परेको छ।

उपमहानगरपालिकाले नगरभित्र सार्वजनिक यातायात व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, राजस्व चुहावट नियन्त्रण गर्ने र सडक सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले नियमनात्मक अभियानलाई तीव्रता दिएको जनाएको छ। सोही योजनाअन्तर्गत ई–रिक्सा र ई–लोडरको अभिलेखीकरण गरी व्यवस्थित सञ्चालन सुनिश्चित गर्न खोजिएको हो।

सचेतना अभियानमा सहभागी नगर प्रहरी तथा ट्राफिक प्रहरीका प्रतिनिधिहरूले चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, सवारीका आवश्यक कागजात साथमा राख्न र यात्रुको सुरक्षाप्रति जिम्मेवार बन्न आग्रह गरेका छन्। साथै उपमहानगरपालिकाले सबै ई–रिक्सा तथा ई–लोडर सञ्चालकलाई समयमै दर्ता प्रक्रिया पूरा गरी कानुनी प्रावधानअनुसार मात्र सवारी सञ्चालन गर्न अनुरोध गरेको छ।

Leave a review

This will close in 0 seconds