सिङ्गौल वन क्षेत्रबाट ८ हेक्टरभन्दा बढी भूमि अतिक्रमणमुक्त

साझेदारी डेलि
114 पाठक संख्या

निजगढ । बाराको निजगढ नगरपालिका–२ स्थित सिङ्गौल वन क्षेत्रभित्र लामो समयदेखि अतिक्रमणमा परेको करिब ८ हेक्टर वन भूमि डिभिजन वन कार्यालय बाराले सोमबार खाली गराएको छ। सुरक्षा निकायको समन्वयमा सञ्चालन गरिएको अभियानमार्फत वन क्षेत्रभित्र बनाइएका घरटहरा हटाउँदै भूमि पुनः वनको स्वामित्वमा ल्याइएको हो।

डिभिजन वन कार्यालयका प्रमुख सुजीत कुमार झाका अनुसार बिहान ७ बजेदेखि सुरु भएको अतिक्रमण हटाउने अभियान साँझ ४ बजेसम्म निरन्तर सञ्चालन गरिएको थियो। अभियानका क्रममा वन क्षेत्रभित्र निर्माण गरिएका ११ वटा घरटहरा हटाइएका छन्।

वन कार्यालयले यसअघि पनि सो क्षेत्रमा फैलिएको अतिक्रमण नियन्त्रणका लागि कानुनी प्रक्रिया अघि बढाएको थियो। कार्यालयले दायर गरेको मुद्दामा अदालतबाट पक्षमा फैसला आएपछि गत वर्ष १३ हेक्टर क्षेत्रफलमा लगाइएका खेतीबाली हटाएर उक्त भूमि पुनः वन क्षेत्रमा समावेश गरिएको थियो। त्यस क्षेत्रमा वृक्षारोपण कार्यक्रमसमेत सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

वन ऐन, २०७६ र वन नियमावली, २०७९ अनुसार सञ्चालन गरिएको अभियान मानव–वन्यजन्तु द्वन्द्वको उच्च जोखिम रहेको क्षेत्रमा केन्द्रित गरिएको थियो। वन क्षेत्रको संरक्षण, जैविक विविधताको सुरक्षा तथा वन्यजन्तुको प्राकृतिक बासस्थान जोगाउने उद्देश्यले अतिक्रमण हटाइएको वन कार्यालयको भनाइ छ।

अभियानका क्रममा कुनै अप्रिय घटना नभएको तथा सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण ढंगले सम्पन्न भएको कार्यालयले जनाएको छ। अभियान सफल बनाउन जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन प्राविधिक, वन सुरक्षा कर्मचारी, सञ्चारकर्मी तथा अन्य सरोकारवाला निकायको सक्रिय सहयोग रहेको वन कार्यालयले उल्लेख गरेको छ। डिभिजन वन कार्यालय बाराले वन अतिक्रमण नियन्त्रण र वन क्षेत्र संरक्षणका लागि आगामी दिनमा पनि कानुनबमोजिम यस्ता अभियानलाई निरन्तरता दिइने जनाएको छ।

Leave a review

This will close in 0 seconds