दुई दशकपछि सखुवाहाको १५ विघा अतिक्रमित वन फिर्ता,डिभिजन वन कार्यालयद्धारा तारबार र वृक्षारोपण कार्य सुरु

साझेदारी डेलि
336 पाठक संख्या

कोल्हवी । बाराको कोल्हबी नगरपालिका–५ स्थित सखुवाहा क्षेत्रमा लामो समयदेखि अतिक्रमणमा परेको करिब १५ बिघा राष्ट्रिय वन क्षेत्र डिभिजन वन कार्यालय बाराले पुनः आफ्नो नियन्त्रणमा ल्याएको छ।

करिब २० वर्षदेखि विभिन्न व्यक्तिले खेतीपाती तथा अन्य प्रयोजनका लागि उपयोग गर्दै आएको उक्त वन क्षेत्र संरक्षण अभियानमार्फत खाली गराइएको हो।

वन कार्यालयका अनुसार अतिक्रमण हटाउने अभियान सब–डिभिजन वन कार्यालयको समन्वयमा सञ्चालन गरिएको थियो। वन अधिकृत कृष्णकुमार पटेलको नेतृत्वमा खटिएको वन कर्मचारीको टोलीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा सहयोग प्राप्त भएको थियो। सुरक्षा सतर्कताका साथ सञ्चालन गरिएको अभियान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।

उक्त क्षेत्रमा केही भाग खेतीयोग्य जमिनका रूपमा प्रयोग हुँदै आएको थियो भने केही स्थान स्थानीयले श्मशानका रूपमा समेत उपयोग गर्दै आएका थिए। वन क्षेत्रको मौलिक स्वरूप संरक्षण गर्ने उद्देश्यले सम्पूर्ण अतिक्रमित भाग खाली गराई सरकारी स्वामित्व कायम गरिएको वन कार्यालयले जनाएको छ।

डिभिजन वन अधिकृत सुजित कुमार झाको निर्देशनमा खाली गराइएको क्षेत्रको सीमांकन गरी तत्काल तारबारको काम सुरु गरिएको छ। पुनः अतिक्रमण हुन नदिन नियमित अनुगमन तथा निगरानीसमेत कडा बनाइने तयारी गरिएको कार्यालयले जानकारी दिएको छ।

वन अधिकृत पटेलका अनुसार वर्षायामलाई अवसरका रूपमा उपयोग गर्दै खाली गराइएको क्षेत्रमा स्थानीय हावापानी सुहाउँदा विभिन्न प्रजातिका बिरुवा रोप्ने योजना अघि बढाइएको छ। यसले वनको हरियाली पुनःस्थापना, जैविक विविधताको संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालय बाराले राष्ट्रिय वन क्षेत्रमा हुने अतिक्रमण, अवैध बसोबास तथा अनधिकृत उपयोगविरुद्ध आगामी दिनमा पनि कानुनी प्रक्रिया अनुसार अभियानलाई निरन्तरता दिने स्पष्ट गरेको छ। वन संरक्षण प्रभावकारी बनाउन स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सम्बन्धित निकायको सक्रिय सहकार्य अपरिहार्य रहेको कार्यालयको भनाइ छ।

Leave a review

This will close in 0 seconds