सखुवामा वन कार्यालयको छापा, २० क्युफिट सालको काठ नियन्त्रणमा

रञ्जन यादव
77 पाठक संख्या

कोल्हवी । बाराको कोल्हबी नगरपालिका–५ सखुवामा डिभिजन वन कार्यालयले सञ्चालन गरेको विशेष अनुगमन अभियानका क्रममा अवैध रूपमा भण्डारण गरिएको सालको काठ बरामद गरेको छ।

कोल्हबी सब–डिभिजन वन कार्यालयका प्रमुख कृष्णकुमार पटेलको नेतृत्वमा खटिएको टोलीले एक घरबाट चार थान सालका गोलिया काठ बरामद गरेको हो। बरामद काठको परिमाण करिब २० क्युफिट रहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ।

डिभिजनल वन अधिकृत सुजितकुमार झाले दिउँसो करिब २ बजेदेखि सञ्चालन गरिएको खोजतलासका क्रममा घरभित्र लुकाएर राखिएको अवस्थामा काठ फेला परेको जानकारी दिए। उनका अनुसार काठसँग सम्बन्धित व्यक्ति घटनास्थलमा उपस्थित नरहेकाले तत्काल पक्राउ गर्न नसकिएको र उनीहरूको खोजी तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

अनुगमनका क्रममा केही स्थानीयले वन कार्यालयको टोलीसँग सामान्य विवाद र धकेलाधकेलको प्रयास गरे पनि स्थिति नियन्त्रणबाहिर नगेको कार्यालयले जनाएको छ। घटनामा कुनै मानवीय क्षति वा अप्रिय अवस्था भने सिर्जना भएको छैन।

बरामद गरिएको काठ हाल डिभिजन वन कार्यालयको नियन्त्रणमा राखिएको छ। अभियानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत सहयोग रहेको थियो।

वन कार्यालयले अवैध काठ तस्करी, वन पैदावारको गैरकानुनी ओसारपसार तथा भण्डारणविरुद्ध यस्ता लक्षित अनुगमन र विशेष अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ।

Leave a review

This will close in 0 seconds