सिमरा । बाराको सिमरास्थित आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा राजस्व संकलनसँगै करदाताको संख्या पनि उल्लेख्य रूपमा बढाएको छ। कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रु. १७ करोड ८१ लाख ६७ हजारभन्दा बढी राजस्व संकलन भएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा रु. १५ करोड २२ लाख ७७ हजारभन्दा बढी राजस्व उठेको थियो। एक वर्षको अवधिमा राजस्व संकलनमा करिब १७ प्रतिशतले वृद्धि भएको आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख दिनेश पाण्डेले जानकारी दिए।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गत आवमा सबैभन्दा ठूलो हिस्सा आयकरबाट प्राप्त भएको छ। आयकरतर्फ रु. १७ करोड ४२ लाखभन्दा बढी संकलन भएको छ। अघिल्लो वर्षको तुलनामा आयकर संकलनमा १ सय ४ प्रतिशतभन्दा बढी वृद्धि भएको कार्यालयले जनाएको छ।
त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) बाट रु. १५ करोड २८ लाखभन्दा बढी संकलन भएको छ। भ्याटतर्फको राजस्व अघिल्लो वर्षको तुलनामा करिब ४१ प्रतिशतले बढेको कार्यालयको तथ्यांकमा उल्लेख छ। अन्तःशुल्कबाट भने रु. ११ करोड ६६ लाखभन्दा बढी राजस्व संकलन भएको छ।
राजस्व संकलनमा वृद्धि हुनुका साथै सिमरा कार्यालयको करदाता आधारसमेत विस्तार भएको छ। आर्थिक वर्ष २०८१/८२ मा कार्यालयमा ८४ हजार ४ सय ८४ करदाता दर्ता रहेकामा गत आवमा यो संख्या बढेर ९३ हजार १ सय ९ पुगेको छ।
गत आवमा आयकरतर्फ १६ हजार ४ सय ५४, भ्याटतर्फ १० हजार २ सय ४५ र अन्तःशुल्कतर्फ १ हजार ६ सय ४८ करदाता दर्ता भएका छन्। व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ६४ हजार ६ सय पुगेको छ भने डब्ल्युप्यानतर्फ १ सय ६२ करदाता दर्ता भएका छन्।
कार्यालय प्रमुख पाण्डेका अनुसार राजस्व संकलन र करदाता दर्ता दुवैमा भएको विस्तारले सिमरा क्षेत्रको कर प्रशासनमा सहभागिता बढ्दै गएको देखाएको छ। करको दायरा विस्तार हुनु र नयाँ करदाता प्रणालीमा आबद्ध हुनु राजस्व परिचालनका दृष्टिले सकारात्मक संकेत भएको कार्यालयको निष्कर्ष छ ।


