विश्रामपुरमा सशस्त्र प्रहरीद्वारा नवनिर्मित चौतारीको उद्घाटन

संदिप प्रसाद यादव
42 पाठक संख्या

बारा । बाराको विश्रामपुर गाउँपालिका–१ घोडासहनमा नवनिर्मित विश्रामस्थल (चौतारी) को उद्घाटन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराले फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकाको सीमामा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत निर्माण गरिएको चौतारीको बाराका निमित्त गणपति एवं सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष अधिकारीले शिलालेख अनावरण गरी एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त गणपति अधिकारीले सीमावासीलाई राहत पुग्ने उद्देश्यले उक्त चौतारी निर्माण गरिएको बताए। सशस्त्र प्रहरीले विभिन्न स्थानमा जनहितका यस्ता कार्य गर्दै आएको उनले बताए।

उनले सीमावासीसँग आत्मीयता बढाउने तथा उनीहरूलाई सहयोग, समन्वय र सहकार्य गर्ने उद्देश्यले सशस्त्र प्रहरी अघि बढिरहेको बताए। “हामी जनतासँग नजिक हुन चाहन्छौँ। हामी सबै एउटै हौँ, हामी सबै सीमाका रक्षक हौँ,” अधिकारीले भने।

उक्त उद्घाटन कार्यक्रममा बीओपी बरैनियाका सशस्त्र प्रहरी निरीक्षक सन्तोष चौलागाईं, एफओबी बलिरामपुरका सशस्त्र प्रहरी नायब निरीक्षक नगेन्द्र यादव, एफओबी छतवाका सशस्त्र प्रहरी नायब निरीक्षक सञ्जय गुरागाईंलगायत फेटा र विश्रामपुर गाउँपालिकाका स्थानीयवासी, सञ्चारकर्मी तथा सीमावासीको उपस्थिति थियो।

Leave a review