स्क्रायबलमा एसपीईएसका प्रिन्स यादव प्रथम,राष्ट्रिय प्रतियोगिताका लागि आठ विद्यार्थी छनोट

रञ्जन यादव
44 पाठक संख्या

सिमरा । सिमरामा सम्पन्न छैटौँ बारा जिल्ला स्तरीय स्क्रायबल प्रतियोगिताबाट आठ विद्यार्थी राष्ट्रियस्तरको प्रतियोगिताका लागि छनोट भएका छन्। सात चरणमा सञ्चालन गरिएको प्रतियोगितामा जिल्लाका १४ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।

बाईटर एकेडेमी सिमराको आयोजना तथा स्क्रायबल क्लब बाराको सहकार्यमा भएको प्रतियोगितामा प्रत्येक विद्यालयबाट दुई–दुई विद्यार्थी सहभागी थिए। सहभागी विद्यालयमध्ये एक सामुदायिक विद्यालयसमेत रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा एसपीईएस सिमराका प्रिन्स यादवले सर्वाधिक राम्रो प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे। शुभारम्भ एकेडेमीका पर्वत केसी दोस्रो तथा सभ्य मण्डल तेस्रो भए। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई आयोजकले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको थियो।

जिल्लास्तरीय प्रतिस्पर्धाबाट राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुने अन्य पाँच विद्यार्थीमा कौशल लामिछाने, न्युटन खनाल, वीरबहादुर सहनी, अर्जुन पोखरेल र एकलव्य झा रहेका छन्। पहिलोदेखि तेस्रो स्थान हासिल गर्ने तीन खेलाडीसहित आठ जना राष्ट्रियस्तरमा हुने प्रतियोगितामा बाराको प्रतिनिधित्व गर्नेछन्।

प्रतियोगिताले विद्यार्थीमा अंग्रेजी शब्दको ज्ञान विस्तार गर्नुका साथै स्मरणशक्ति, एकाग्रता, तार्किक सोच र प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पुग्ने आयोजकको विश्वास छ। सहभागी शिक्षकहरूले पनि विद्यालयबीचको यस्तो प्रतिस्पर्धाले विद्यार्थीलाई नयाँ अनुभव लिन र एकअर्काबाट सिक्ने अवसर दिएको बताएका थिए।

बाईटर एकेडेमीका प्रबन्ध निर्देशक चन्द्र दास चौहानको अध्यक्षतामा भएको समापन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी प्रमुख अतिथि थिए। अधिकारीले अतिरिक्त तथा सह–शैक्षिक गतिविधिलाई शिक्षाको अभिन्न अंगका रूपमा अघि बढाउनुपर्ने बताए।

उनले स्क्रायबलजस्ता बौद्धिक खेलले विद्यार्थीको शब्दभण्डार र भाषिक क्षमता बढाउनुका साथै एकाग्रता, स्मरणशक्ति र सिर्जनात्मक सोच विकास गर्न मद्दत गर्ने धारणा राखे। स्थानीय तहले पनि विद्यार्थीको प्रतिभा पहिचान र शिक्षाको गुणस्तर सुधारका लागि यस्ता गतिविधिलाई प्राथमिकता दिँदै आएको उनले बताए।

कार्यक्रममा बाईटर एकेडेमीका प्रधानाध्यापक राजु कार्कीले सहभागी विद्यालय, विद्यार्थी र शिक्षकप्रति आभार व्यक्त गर्दै पढाइसँगै बौद्धिक तथा सिर्जनात्मक गतिविधिमा विद्यार्थीलाई जोड्नुपर्ने बताए।

कार्यक्रममा जीतपुरसिमरा–१६ का वडाध्यक्ष हरिदेव खरेल, बारा जिल्ला स्क्रायबल क्लबका बोर्ड सदस्य भोजराज सुवेदी, लोटस एकेडेमीका संस्थापक प्रिन्सिपल रामप्रसाद अधिकारी, एसपीईएसका प्रिन्सिपल बसन्त ढकाल तथा बारा जिल्ला स्क्रायबल क्लबका संयोजक सुवास श्रेष्ठलगायतको उपस्थिति थियो।

वक्ताहरूले स्क्रायबललाई भाषा सिकाइ र विद्यार्थीको बौद्धिक क्षमता विकाससँग जोड्दै जिल्लामा यसको विस्तार गर्नुपर्ने बताए। जिल्ला तहमा हुने प्रतियोगितालाई प्रदेश हुँदै राष्ट्रियस्तरमा निरन्तरता दिन सके विद्यार्थीको प्रतिभा थप उजागर हुने उनीहरूको भनाइ थियो।

Leave a review