गणपति वनस्पति घ्यू उद्योगका श्रमिकद्वारा बाढीपीडितका लागि एक दिनको पारिश्रमिक सहयोग

रञ्जन यादव
50 पाठक संख्या

सिमरा । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ स्थित गणपति वनस्पति घ्यू उद्योगका श्रमिक तथा कर्मचारीले आफ्नो एक दिनको पारिश्रमिक सहयोग गरेका छन्।

श्रमिक तथा कर्मचारीबाट संकलित १ लाख २५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। मंगलबार जीतपुरसिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठको रोहवरमा श्रमिकहरूले उक्त रकम बराबरको चेक कोषमा जम्मा गरेका हुन्।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। बाढी प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले उद्योगका श्रमिक तथा कर्मचारीले एक दिनको तलब सहयोग गर्ने निर्णय गरेका थिए।

उद्योगका श्रमिक प्रधुमन चौरसियाका अनुसार विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएकाले श्रमिकहरूले आफ्नै पारिश्रमिकबाट एक दिनको रकम छुट्याएर सहयोग गरेका हुन्।

चेक हस्तान्तरणका क्रममा वडाअध्यक्ष श्रेष्ठले श्रमिक तथा कर्मचारीले आफ्नै मेहनतको कमाइबाट विपद् प्रभावित नागरिकका लागि गरेको सहयोग प्रशंसनीय रहेको बताए। यस्ता मानवीय सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ थियो।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला उद्योगका श्रमिक तथा कर्मचारीको सहयोगले विपद्का बेला श्रमिक वर्गको सामाजिक उत्तरदायित्व र मानवीय भावनालाई समेत उजागर गरेको छ।

Leave a review