दुर्घटनामा मृत्यु भनिएका जीतपुरका राजु सहनीको घटनामा हत्या आशंका, परिवारले माग्यो छानबिन

रञ्जन यादव
159 पाठक संख्या

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ स्थित आरएमसी कम्पनीनजिक असोज २ गते भएको भनिएको सवारी दुर्घटनामा घाइते भएका २४ वर्षीय राजु सहनीको उपचारका क्रममा मृत्यु भएपछि घटनाबारे परिवारले हत्या भएको आशंका व्यक्त गरेको छ।

जीतपुरसिमरा–८ का सहनी गणेश चतुर्थी महोत्सवमा सहभागी भएर घर फर्किने क्रममा राति घाइते अवस्थामा भेटिएका थिए। रमौलीबाट जीतपुरतर्फ आउँदै गरेको मोटरसाइकलमा पछाडि बसेका सहनीले सडकमा अचानक सर्प देखेपछि आत्तिएर मोटरसाइकलबाट हाम फालेको केही स्थानीयले बताएका छन्।

घटनापछि गम्भीर घाइते सहनीलाई उपचारका लागि काठमाडौंस्थित न्यूरो अस्पताल लगिएको थियो। अस्पतालमा उपचाररत उनको असोज ४ गते आइतबार दिउँसो १२ः५४ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।

तर, परिवारले भने घटनालाई सामान्य दुर्घटनाका रूपमा स्वीकार गर्न नसकिने जनाएको छ। परिवारका अनुसार घटनाअघि फारमको विषयलाई लिएर दुई परिवारबीच विवाद रहँदै आएको थियो। सोही विवादको पृष्ठभूमिमा सहनीमाथि ढुङ्गा प्रहार गरी हत्या गरिएको र त्यसलाई दुर्घटनाको स्वरूप दिन खोजिएको परिवारको आरोप छ।

घटनामा आरोप लागेका व्यक्तिसहित उनका परिवारका सदस्यहरू घरमा ताल्चा लगाएर फरार रहेको स्थानीयले बताएका छन्। यद्यपि, उनीहरू फरार रहेको वा घटनामा संलग्न रहेको विषयमा प्रहरीले औपचारिक पुष्टि गरेको छैन। परिवारले घटनास्थलको अवस्था, सहनीको शरीरमा देखिएको चोटपटक तथा घटनाको पृष्ठभूमिसमेत सूक्ष्म रूपमा अध्ययन गरी निष्पक्ष अनुसन्धान गर्न प्रहरीसँग माग गरेको छ।

प्रहरीले भने घटनाको वास्तविक कारण अनुसन्धानबाट मात्रै खुल्ने जनाएको छ। घटनास्थलको अवस्था, घाइतेको चोटपटक, मृत्युको कारण तथा घटनासँग जोडिएका अन्य पक्षबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। दुर्घटना हो वा अन्य कारणबाट सहनीको मृत्यु भएको हो भन्ने विषय अनुसन्धान पूरा भएपछि मात्रै यकिन हुने प्रहरीको भनाइ छ।

Leave a review