बारा । बारामा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयस्तरबाटै ट्राफिक सचेतना अभियानलाई तीव्रता दिइएको छ। यसक्रममा कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता सेकेन्ड्रि इंग्लिस बोर्डिङ स्कुल +२ साइन्स एन्ड म्यानेजमेन्टका कक्षा ११ का विद्यार्थीलाई ट्राफिक सचेतना प्रदान गरिएको छ।
बुधबार विद्यालयको सभा हलमा आयोजित कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) प्रिन्शानन्द यादवले कक्षा ११ म्यानेजमेन्टका एक सयभन्दा बढी विद्यार्थीलाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी प्रशिक्षण दिएका हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढको मातहतमा रहेको अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाले दुर्घटना न्यूनीकरणका लागि विद्यालयस्तरबाटै सचेतना अभियान सञ्चालन गर्दै आएको छ। अभियानअन्तर्गत विद्यार्थीलाई ट्राफिक नियमबारे जानकारी गराउनुका साथै सुरक्षित सडक प्रयोगका व्यवहारिक पक्षबारे समेत प्रशिक्षण दिइँदै आएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रशिक्षणका क्रममा विद्यार्थीलाई विभिन्न ट्राफिक चिन्ह, सडक लेनको प्रयोग, सडक पार गर्दा अपनाउनुपर्ने सावधानी, दुईपाङ्ग्रे सवारीसाधन चलाउँदा हेल्मेटको अनिवार्य प्रयोग, चारपाङ्ग्रे सवारीसाधनमा सिटबेल्टको प्रयोग, तीव्र गतिमा सवारी चलाउँदा हुने जोखिम तथा जथाभावी सडक प्रयोग गर्दा निम्तिन सक्ने दुर्घटनाबारे जानकारी गराइएको थियो।
असई यादवले ट्राफिक नियम कडाइका साथ पालना गर्नु केवल चालकको मात्र नभई पैदलयात्री, विद्यार्थी, अभिभावक र समुदायका सबै सदस्यको साझा जिम्मेवारी भएको बताए। उनले विद्यार्थीले विद्यालयमा सिकेको सडक सुरक्षा सम्बन्धी ज्ञान घरपरिवार तथा समुदायसम्म पुर्याउन सक्ने भएकाले विद्यालयबाट सुरु गरिने सचेतना अभियान प्रभावकारी हुने बताए।
विद्यालयबाट सुरु गरिएको यस्तो अभियानले विद्यार्थी हुँदै अभिभावक र समुदायसम्म ‘सडक सुरक्षा सबैको जिम्मेवारी हो’ भन्ने सन्देश पुर्याउने अपेक्षा गरिएको छ।
ट्राफिक प्रहरीका अनुसार चालु आर्थिक वर्षको अढाई महिनामै बारामा १ सय ६४ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने २ सय ५३ जना घाइते भएका छन्।
कार्यक्रममा विद्यालयका +२ कोओर्डिनेटर प्रिन्स सिंह, प्रियान्शु सरार्फ, विद्यार्थी तथा शिक्षकहरूको उपस्थिति थियो। सोही कार्यक्रमबीच विद्यालयका प्रबन्ध निर्देशक सुमोद सरार्फले ट्राफिक सचेतना अभियानमा योगदान पुर्याएको भन्दै असई प्रिन्शानन्द यादव र ट्राफिक प्रहरी जवान पिन्टु कुमार साहलाई खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।


