कलैया । बाराको कलैया उपमहानगरपालिका–५, हस्पिटल रोडस्थित पि एण्ड पि हस्पिटल प्रा.लि.ले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा एक महिनासम्म ओपिडी सेवा निःशुल्क तथा ल्याब सेवामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ।
शनिबार हस्पिटलका सञ्चालक जटाशंकर यादवले अस्पताल सञ्चालनको एक वर्ष पूरा भएको अवसरमा बिरामीलाई राहत दिने उद्देश्यले उक्त छुटको घोषणा गरेका हुन्।
सञ्चालक यादवका अनुसार हस्पिटलले इमर्जेन्सी, विशेषज्ञ चिकित्सकीय सेवा, रेडियोलोजी, प्रयोगशाला, फार्मेसी, आईसीयू, एनआईसीयू तथा भेन्टिलेटरसहित १५ शय्याको सेवा प्रदान गर्दै आएको छ।
हस्पिटलमा जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, हाडजोर्नी तथा नसा रोग, छाला रोग र प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध रहेको यादवले जानकारी दिए।
वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको छुटबाट सर्वसाधारण तथा आर्थिक रूपमा कमजोर बिरामीलाई स्वास्थ्य सेवा लिन सहज हुने हस्पिटलका संचालक यादवले अपेक्षा गरेका छन् ।


