मलंगवाका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

साझेदारी डेलि
89 पाठक संख्या

बारा । सर्लाहीको मलंगवा नगरपालिकामा कार्यरत दुई कर्मचारी एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नगरपालिकाका इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशल कुमार मधुकर रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट घुसबापत लिएको एक लाख रुपैयाँ र स्रोत नखुलेको थप ३३ हजार ७०५ रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने कार्यमा दुःख तथा हैरानी दिई घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा अख्तियारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवै कर्मचारीलाई असोज २० गते मंगलवार मलंगवा नगरपालिकाबाट नियन्त्रणमा लिइएको थियो। उनीहरूमाथि घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट असोज २१ गते म्याद थपको आदेश प्राप्त भएपछि थप अनुसन्धान अघि बढाइएको छ।

Leave a review