सुवर्ण गाउँपालिकामा चोरी नियन्त्रण गर्न टोल सुरक्षा समिति गठन गरिने

साझेदारी डेलि
145 पाठक संख्या

बारा । बाराको सुवर्ण गाउँपालिकाका विभिन्न वडामा चोरीका घटना बढ्दै गएपछि गाउँपालिकाले चोरी नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न टोल सुरक्षा समिति गठन गर्ने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवको अध्यक्षतामा मंगलवार बसेको बैठकले स्थानीय प्रहरीको निगरानीमा टोल सुरक्षा समिति गठन गर्ने निर्णय गरेको हो।

बैठकले गाउँपालिकाका विभिन्न क्षेत्रमा भएका चोरीका घटनाको छानबिन गरी संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक कारबाही अघि बढाउने निर्णय गरेको छ।

त्यसैगरी, आगामी दिनमा चोरीलगायतका आपराधिक घटना रोकथाम गर्न सम्बन्धित प्रहरी चौकीका इन्चार्ज र नगर प्रहरीलाई समेटेर टोल सुरक्षा समिति गठन गरिने गाउँपालिका अध्यक्ष यादवले जानकारी दिएका छन्। समितिमार्फत सुरक्षा सम्बन्धी सूचना आदानप्रदान सहज बनाउन ह्वाट्सएप समूहसमेत बनाइने उनले बताए।

गाउँपालिका क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न गाउँपालिका प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

चोरीका घटनाको आवश्यक छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय बढाउने बैठकको निष्कर्ष छ।

बैठकमा गाउँपालिका अध्यक्ष राजेश यादव, प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रतिनिधि र नगर प्रहरी प्रमुखलगायतको उपस्थिति थियो।

Leave a review