डुमरवानामा एसक्यूसी सम्मेलन सम्पन्न

रञ्जन यादव
64 पाठक संख्या

डुमरवाना । विद्यार्थीमा नेतृत्व क्षमता, सिर्जनशीलता र सामूहिक रूपमा समस्या समाधान गर्ने सीप विकास गर्ने उद्देश्यले बाराको डुमरवानामा क्वेस्ट नेपालको ११ औँ हब सम्मेलन सम्पन्न भएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्थित राष्ट्रिय विभूति शिक्षा सामुदायिक सदनको आयोजनामा भएको सम्मेलनमा उपमहानगरका ११ विद्यालयका १४६ विद्यार्थी सहभागी भएका थिए। ‘एसक्यूसीमार्फत सहानुभूति विकास’ नारासहित आयोजित कार्यक्रममा गुणस्तर प्रश्नोत्तरी, चित्रकला, एसक्यूसी खोजी प्रतियोगिता र कथा निर्माणलगायत गतिविधि सञ्चालन गरिएका थिए।

कार्यक्रममा भोजराज सुवेदीले एसक्यूसीले विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग पुर्‍याउने बताए। उनले सिमरा क्षेत्रमा यसको विस्तारमा सूर्य नेपाल प्रालिले गर्दै आएको सहयोगको प्रशंसा गरे।

सिमरा पब्लिक स्कुलका प्रधानाध्यापक बसन्त ढकालले एसक्यूसी र स्क्र्याबलजस्ता गतिविधिले जीतपुरसिमराको शैक्षिक पहिचान स्थापित गर्न योगदान दिएको बताए।

जनता माध्यमिक विद्यालय रजघट्टाका प्रधानाध्यापक राजु अधिकारीले सामुदायिक विद्यालयमा पनि एसक्यूसी कार्यक्रम विस्तार गर्न स्थानीय सरकारसँग आग्रह गरे। उनले सामुदायिक र संस्थागत विद्यालयलाई समान अवसर दिनुपर्नेमा जोड दिए।

नगरप्रमुख राजन पौडेलले आगामी दिनमा सिमरा हबमार्फत सञ्चालन हुने कार्यक्रममा सामुदायिक विद्यालयलाई समेत सहभागी गराउन पहल भए उपमहानगरपालिकाले सहयोग गर्ने बताए। उनले जीतपुरसिमरालाई शैक्षिक हबका रूपमा विकास गर्ने प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

राष्ट्रिय विभूति शिक्षा सामुदायिक सदनका निर्देशक श्यामप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल सागर ठाडामगर, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति थियो। ठाडामगरलगायत विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

Leave a review