गर्मीका कारण विद्यालय बन्दको सट्टा वैकल्पिक उपाय अपनाउनुपर्ने

साझेदारी दैनिक
साझेदारी दैनिक 323 पाठक संख्या
7 मिनेट पढ्न लाग्ने समय

– चन्द्रकिशोर प्रसाद साह/
भिषण गर्मीका कारण विद्यालयीय पठोपाठन विरगंज महानगरपालिकाले एक हप्ता बन्द गरी जेष्ठ २८ गते आइतवारदेखि खोल्न सूचना गरेअनुरुप विद्यालयहरु बन्द भएका छन् । यस्तै कलैया उपमहानपाले जेष्ठ २५ गतेदेखि सूचारु गरिने जनाएको छ भने जीतपुरसिमराले पहिले नै ३ दिन बन्द गरिसकेको छ । कलैयामा रामराजाले कक्षा ११ को परीक्षा भने जारी राखेको छ । महागढीमाई नपाले विहान ९ बजेसम्म मात्र कक्षा सञ्चालन गर्नगराउन आव्हान गरेको छ । यसरी नै कोही ३ दिन, कोही ५ दिन त कसैले ७ दिन विद्यालय बन्द गराएको देखिन्छ । कोही कोही विहान मात्र चलाउनुपर्ने र दिउँसो चल्ने कक्षामा रोक लाइएको देखिन्छ । तर वैकल्पिक सोंचमा कमी रहेको पाइन्छ । मधेशमा त अब दिनप्रतिदिन गर्मी बढ्दै जान्छ भने कति सम्म विद्यालय बन्द गर्ने? अतः समय मिलान, भरपर्दाे उपाय अपनाएर सञ्चालन गरिनुपर्दछ ।

अहिले दिउँसो १२ बजेदेखि ३ बजेसम्म ४० देखि ४५ डिग्रीको गर्मी हावाको तरंग चल्ने गरेकाले लु लाग्ने सम्भावना प्रबल रहेको पाइन्छ । विश्वमा कार्बनडाइअक्साइड, सल्फरडाइअक्साइड, क्लोरोफ्लोरोकार्बन आदिको उत्सर्जन अत्यधिक भई मौसममा निकै परिवर्तन आउनुका साथै ओजोन लेयर क्षय भइरहेको छ । यदि यस्तै रफ्तारमा गर्मी बढ्दै जाने हो भने आउँदो ५० वर्षमा समुद्र वरिपरिका शहरहरु जलमग्न हुने र टाढाका देशहरु सुख्खाग्रस्त हुने देखिन्छ । कमजोर कलेजो भएका मानिस, शरीरमा पानीको मात्रा पर्याप्त नभएका व्यक्ति, शरीरमा सुरक्षित कपडा, टाउकोमा समुचित छेकवार नरहेका आदि कारणले दैनन्दिन मोटरसाइकल, साइकल, गाडीहरु दुर्घटनाग्रस्त भइरहेका देखिन्छन् । मानवत मटिअर्वा सडक खण्ड होस् वा विरगंजदेखि पथलैयाको रोडमा बालुवा, ढुंगाहरु इत्रतत्र छरिएकाले आँखाहरुमा बालुवा, कणहरु पर्ने, अत्यधिक गर्मीका कारण वढी दुर्घटना भइरहेको बताइन्छ । यसर्थ दिउँसो गाडी चलाउँदा, बाहिर निस्किँदा बढी सावधानी अपनाउनुपर्ने हुन्छ ।

अत्यधिक गर्मीका कारणले गर्दा केही नदीबाहेक सबै नदीहरुको पानी सुकिसकेका देखिन्छन् । खाल्डाखुल्डीमा जमेर रहेका पानीहरु पनि सवै सुकिसकेका पाइन्छन् । हुनत गर्मीका कारण अहिले लामखुट्टेहरुको विगविगीमा निकै कमी भएको देखिन्छ । जहाँ बहावयुक्तनालाहरु छैनन् त्यही नालामा जमेका फोहोर पानीमा लामखुट्टे अण्डा दिने गरेकाले त्यस्तो नालाभएको ठाउँमा अलिबढी लामखुट्टे लागीरहेकाले सम्वद्ध गाउँपालिका, नगरपालिकाहरुले नाला, सडक बनाउँदा कमिशनको भरमा नभई स्तरीय बनाउनुपर्ने हुन्छ ।

समयमा पानी नपरेकाले धानको बीउ छर्ने कार्यमा ढिलो भएको, लाइएको तरकारी खेतीमा स्वाद कम रहेको, आँप, लिचीमा कम साइजको दाना हुनुका साथै स्वादमा कमी भएको देखिन्छ । यस्तै ६ महिना भन्दा बढी समयसम्म राम्ररी वर्षात् नभएकाले जलस्तर तल घटेकाले कल, धारा, बोरिङ्गमा पानी कम आइरहेको, कतिपय कलहरु सुकिसकेका छन् । कम्प्युटर, ल्याप्टप पनि गर्मीका कारण छिटै प्रोसेसर हिट भई ह्याङ्ग हुने भएकाले ल्यापटपमा तल कुलिङ्ग फ्यान लाएर चलाउनुपर्ने स्थिती सृजित भएको देखिन्छ । हिऊ पनि नखस्ने, वर्षात् पनि नहुने भएकाले अघोषित लोडसेडिङ्गबाट मानिसहरु हैरान छन् । त्यस्तै एक तल्ले घर भएकाहरुले छतमाथि पानी जम्मा पारेर कोठालाई चिसो पार्ने कार्य गरी कोठामा बस्ने वातावरण बनाइरहेका देखिन्छन् । खानेपानीको धाराहरुबाट छतमा पानी पुर्याउन गाह्रो भइरहेको बताइन्छ ।

विश्वभरि नै गर्मी बढिरहेको छ । रुस र युक्रेनको युद्ध १६ महिनादेखि जारी छ भने चीन र ताइवानबीच तुरुन्तै हुने छाँट देखिन्छ जसले मिसाइल, बम वर्षात्बाट झन् प्रचण्ड गर्मी बढ्ने हुन्छ । यस्तै हाम्रो यहाँ पनि वनजंगलको तीब्र विनाश, प्रदुषणमा वृद्धिका कारणले गर्दा बादल लाग्ने, हावाहुरी आउने तर पानी नपर्ने अवस्था आधा दर्जन पटक गरी लली पप हेरेजस्तो मौसम सृजित भएको जगजाहेर नै छ । अब तराईको मधेशको गर्मीमा कमी नभई हरेक वर्ष बढ्ने नै देखिन्छ । मधेशमा बस्नेहरु चाँहि गर्मी खप्पिस हुनुपर्ने हुन्छ । साथै यहाँ बाढी पनि बढी आउने, आँधी हुरी पनि अत्यधिक चल्ने, जाडोमा भीषण चिसो लाग्ने मौसम जारी रहने देखिन्छ । तसर्थ यस्ता मौसमहरु बारम्वार आउने भएकाले यस्ता प्रतिकूल मौसमबाट बँच्न बचाउनका लागि पहल गर्नुका साथै सर्वसुलभ उपायहरु पनि नियाल्दै जानुपर्ने तड्कारो महशुस गरिन्छ ।

यहाँ गर्मी हुँदा, वर्षात् हुँदा, बाढी आउँदा, चिसो पर्दा आदि समयमा विद्यालय बन्द गरिने गरिएको देखिन्छ । हाल दिउँसो गर्मी बढी भइरहेकाले विहान ९, १० बजेसम्म स्कुल चलाउँदा हुन्छ । यदि स्कुलमा टीना भएको भए माथिबाट अर्काे छेकवार, समुचित व्यवस्थापन, वरिपरि वृक्षरोपणजस्ता कार्य गर्नगराउन पहल गरिनुपर्दछ । विद्यार्थीहरुलाई पकेटका जंक फूड नदिई आफ्नै घरका सामग्रीहरु ताजा उपलव्ध गराउनुपर्ने, पर्याप्त तरल पदार्थ, फलफूल आदि व्यवस्थापन गर्न सक्नुपर्दछ । विद्यालयहरुमा थप धारा, कल जडान गरिनुपर्दछ । दीर्घकालीन सोंचले विद्यालय वरिपरि हरियाली लाउन ध्यान दिनुपर्दछ । तर के विद्यालय बन्द गरिंदा विद्यार्थीहरु चाँहि घरमा दिउँसो बस्छन्? के दिउसो ट्युशन बन्द छन्? कक्षामा कति विद्यार्थीहरु बस्छन्? के मेयरहरुद्वारा निरीक्षण गरिएको छ? समुचित शिक्षक व्यवस्थापन गरिएको छ? जस्ता प्रसंगहरुमाथि नियाल्नु जरुरी देखिन्छ ।

सामुदायिक विद्यालयमा एउटा कक्षामा १०० देखि १७५ जना भन्दा बढी विद्यार्थीहरु बसाउने गरिएको पाइन्छ । यस्तो कलैयाको ३ चन्द्र, दुर्गा स्कुल होस् वा महागढीमाईको बरियारपुर, गंजभवानीपुर होस् वा सिम्रौनगढको कंंकाली, खजानी होस् वा कोल्भीको प्रसौना होस् । कतिपयमा अंग्रेजी माध्यम गरी अलगबाट शुल्क लिइए पनि विद्यार्थी संख्यामा भने कमि देखिदैन ।

बोर्डिङ्गहरुमा प्रति कक्षा ४० जना भन्दा बढी राख्दैनन् । यसरी बाराको दक्षिणी भेगको तुलनामा उत्तरीभेगका विद्यालयहरु चनाखो देखिन्छन् । जस्तैः डुमरवाना, रजघटा, सखुआघाट, सिमरा, बकुलिया, सपही, कोल्हवी, निजगढ आदिका विद्यालयहरुमा चाँहि अंंग्रेजी माध्यम होस् वा नेपाली माध्यम सवैमा एउटा कक्षामा ४० जना विद्यार्थी भन्दा बढी राख्ने गरेको पाइँदैन । तर विडम्वना दक्षिणी भेगका सामुदायिक विद्यालयमा सो कुरामा ध्यान दिएको देखिदैन । यदि एउटै कक्षामा १०० जना, १५० जना, १७५ जना विद्यार्थीहरु राखिन्छ भने नत पढाउन सकिन्छ वा नत विद्यार्थीहरुले पढ्नै सक्छन् ।

केवल अदालतमा तारेखमाथि खारेख लाद्ने गरेझै आवतजावत मात्रै गरेको बाहेक खासै शिक्षा आर्जन हुन्न । साथै एउटै कक्षामा बढी विद्याथीैहरुको भीड हुँदा हाम्रो शरीरबाट निस्किने गर्मीबाट पनि बढी कक्षा कोठामा गर्मी बढ्ने गरेको हुन्छ । यसर्थ ४०÷५० जना भन्दा बढीको कक्षा बनाउनु हुन्न । बरु सेक्शन गर्नुपर्ने, पािलकाहरुले समुचित शिक्षक, भवन निर्माण आदि कुरामा ध्यान दिनुपर्ने हुन्छ । यसर्थ केन्द्रीय सरकार, मधेश सरकार र स्थानीय सरकारहरुले आआफ्ना क्षेत्रहरुमा पर्याप्त वृक्षरोपण, प्रदुषणरहित योजना, सिंचाई कार्यक्रम, जनचेतनामूलक संचार, मानव संशाधनको विकासमा जोड दिने कार्यक्रमको अविलम्व थालनी गर्नुपर्दछ ।

स्वच्छ वातावरण, हरियाली गाउँनगर निर्माणमा कटिवद्ध हुनुपर्ने कार्यको सवैको अहम् भूमिका हुनुपर्दछ । यस्तै बढ्दो गर्मीका कारण सो सडक वरिपरिका मानिसहरुको जनजीवन निकै कष्ठकर देखिन्छ । अतः मानवत मटिअर्वा सडक खण्डको कलैया बैरिया बरेवाको बाँकी रहेको अलकत्रे सडक निर्माण अविलम्ब थालनी गरी ५ दिनदेखि अवरुद्ध सडकलाई सुचारु गराउन सम्वद्ध मन्त्रालय, साँसद, विद्यायक, मेयर अगाडी आउनुपर्दछ ।

समाचार शेयर गर्नुहोस
Leave a review