मर्यादित मनिावारी दिवस मनाइयो

साझेदारी दैनिक
345 पाठक संख्या

मर्यादित महिनावारी दिवस सप्तरीमा विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियान अन्तर्गत मर्यादित महिनावारी दिवसको अवसर पारेर यो दिवस मनाइएको हो ।

यसमा महिनावारीबारे जनचेतना जगाउँदै विशेष कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला स्तरीय लैङ्गिक हिंसा विरुद्धको सञ्जालको आयोजनामा सो कार्यक्रम गरेको हो ।

मेची महाकाली बुहारी संयुक्त आवाज,महिला मानव अधिकार रक्षक सञ्जाल,महिला बालबालिका तथा सामुदायिक विकास केन्द्र,ग्रीन नेपाल र अतुल फार्मेसीको सौजन्यमा सो कार्यक्रम भएको हो ।

राजविराज नगरपालिका १ मा सचेतनामूलक कार्यक्रमका साथ सय जना विपन्न महिलाहरुलाई स्यानिटरी प्याड वितरण गरेर यो दिवस मनाइएको हो ।

कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहर पोखरेलले जैविक घटनाको रुपमा रहेको महिनावारीकै कारण सृष्टि चलिरहेको बताए । महिनावारी प्राकृतिक कुरा रहेको जनाए ।

सन्तान उत्पादन र सृष्टि सञ्चालनका लागि अनिवार्य रहेको महिनावारीको रगत कुनै पनि हालतमा अपवित्र र अमर्यादिन नहुने उनले बताए ।

सती प्रथा,दास प्रथा अन्त भएझै महिनावारीलाई छोइछिटो गर्ने प्रथा हटाउनु पर्छ, उनले भने । जीवनको झण्डै ५÷६ वर्ष मानसिक रुपमा अछुतो भन्ने मानसिकतामा जीवन बिताउनुपर्ने अवस्था अन्त गर्नुपर्ने बताए ।

महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीका अध्यक्ष अनीता देवकोटाको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

राजविराज नगरपालिका कार्यपालिका सदस्य ललिता कर्ण,ग्रिन नेपालका अध्यक्ष खेलानन्द दास, महिला बालबालिका तथा सामुदायिक विकास केन्द्रकी उपाध्यक्ष सुष्मा गुप्ता,मेची महाकाली बुहारी संयुक्त आवाजकी सचिव नानीमैया कटवाल, महिला मानव अधिकार रक्षक सञ्जालकी सहसचिव मनु खनाल,अधिवक्ता साधना कर्ण,ओसिएमसीकी मनिषा सिम्खडाले मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरुले मर्यादित महिनावारीको स्वच्छता र स्वास्थ्यसम्बन्धी आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष धिरेन्द्र दास, मालती चौधरी, ज्ञानु भट्टराई, शान्ता सिंह, जुगलकिशोर मुखिया लगायतको सो कार्यक्रममा उपस्थिति रहेको थियो । राजविराजस्थित कारागारमा समेत सञ्जालले महिला बन्दीहरुलाई स्यानिटरी प्याड वितरण गरेको छ ।

यसैगरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत पाँचौ मर्यादित महिनावारी दिवसकोे अवसरमा राजविराजमा बालिकाहरुबीच भएको त्रिकोणात्मक टि–ट्वेण्टी क्रिकेट प्रतियोगिता भएको छ । सो प्रतियोगितामा
राजविराज च्याम्सले खडग क्विनलाई पराजित गर्दै उपाधि चुमेको छ ।

सोही अवसरमा विभिन्न विद्यालयका छात्राहरुलाई मर्यादित महिनावारी तथा लैंगिक हिंसाबारे खेलको माध्यमले अन्तक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको छ ।

सप्तरी क्रिकेट संघका अध्यक्ष तथा सवल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा खडक नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरीले विजेतालाई कप तथा उपहार प्रदान गरे ।

मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेल,क्यानका मुख्य छनौटकर्ता दिपेन्द्र चौधरी,सबल नेपालका श्रेष्ठ,अशोक साह, परमेश्वर झा,एमसीसीका प्रशिक्षकहरुले उपविजेता र सहभागी विभिन्न विद्यालयका छात्राहरुलाई उपहार प्रदान गरे । अधिकारकर्मी पोखरेलले महिनावारीलाई प्राकृतिक, सामान्य र स्वभाविक हो ।

यो मान्दा पनि महिलामाथि हुने अनेकन हिंसा र विभेद अन्त्य हुने बताए । पुरुषले गर्ने सबै काम महिलाले गर्न सके पनि महिनावारी,स्तनपान,गर्भधारण र सन्तान उत्पादन गर्ने जिम्मेवारी प्रकृतिले महिलालाई मात्र दिएको उनले जनाए ।

सृष्ट्रिलाई निरन्तरता दिने महिनावारीलाई मर्यादित रुपमा हेरिनुपर्ने उनले बताए ।

जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जालका अध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले छात्राहरुलाई स्यानिटरी प्याड,रुमाल,साबुन वितरण गरेका थिए ।

Leave a review

This will close in 0 seconds