सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्रको आन्तरिक विवाद मिलाउन आज नौ दिनपछि पुनः छलफल भएको छ । यही साउन २० गतेयता संवादहीनता देखिएकामा आज उहाँहरुबीच छलफल हुनु र प्रधानमन्त्री ओलीले पाँचदिनभित्र विवाद समाधानोन्मुख हुन्छ भन्ने अभिव्यक्ति दिनाले कार्यकर्ता तहमा पार्टी विभाजन हुने चिन्ता मत्थर भएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाँहबीच आज अपराह्न करीब चार घण्टा प्रधानमन्त्री निवास बालुुवाटारमा भेटवार्ता भएको हो । आज अन्य सहयोगी नेता नराखी उहाँहरुबीच मात्रै छलफल भएको हो । यसअघि साउन १९ र २० का छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी हुनुभएको थियो ।
सो भेटवार्तामा उहाँहरुबीच विचार माझ्ने गरी छलफल हुन थालेको र स्थिति सकारात्मक भएकाले स्थगित सचिवालय र स्थायी कमिटीको बैठक बस्ने या नियमित कार्यसूचीमा छलफल भई आन्तरिक विवाद हल हुने आकलन गरिएको छ । गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद छ ।
यही साउन १३ गतेको पूर्वनिर्धारित स्थायी कमिटीको बैठक स्थगनपछि अध्यक्ष दाहालसहित बहुमत सदस्यको भेलाले अध्यक्ष ओलीसँग संवाद गर्न अध्यक्ष दाहाललाई जिम्मेवारी दिएकामा सोही भावनाबमोजिम दुई अध्यक्षको निरन्तर छलफल भएको हो ।रासस