रौतहट : ओम प्रकाश यादव/ रौतहटको माधवनारायण नगरपालिका कार्यालय प्रमुखको जिम्मेवारी इन्जिनियर नागेन्द्र राय यादवले सम्हालेका छन्।
माधवनारायण नगरपालिका कार्यालयको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा नागेन्द्र राय यादव आज हाजिर भइ कार्यभार सम्हालेका हुन्।
कार्यालय प्रमुखको रूपमा हाजिर भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई माधव नारायण नगरपालिका जनप्रतिनिधिहरुले भव्य स्वागत गरेका छन्।
नगरपालिका कार्यालयको सभाहलमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नगरपालिका कार्यालय प्रमुखको जिम्मेवारी पाएका नागेन्द्र राय यादवलाई माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादव,नगर उपप्रमुख निर्मला देवी रमण,सबै वडा अध्यक्ष,कार्यपालिका सदस्य सहितका जनप्रतिनिधि र कर्मचारीहरुले टिका,माला र दोसल्ला ओढाएर भव्य स्वागत गरेका छन्।
नगर प्रमुख बैजनाथ प्रसाद यादवले कार्यालय प्रमुख नागेन्द्र यादवलाई स्वागत गर्दै हाजिर गराएका हुन।
आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नगर प्रमुख यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवलाई सफल कार्यकालको भव्य शुभकामना व्यक्त गरेका थिए।
हाजिर भएसंगै निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले आजैदेखि कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।
यस अघि माधवनारायणको कार्यालय प्रमुख रहेका शाखा अधिकृत श्रीदेव यादवको अन्यत्र सरुवा भएपछि उनको ठाउँमा कार्यालय प्रमुखको जिम्मेवारी इन्जिनियर नागेन्द्र राय यादवले पाएका छन्।
कार्यालय प्रमुख नागेन्द्र राय यादव यस अघि वृन्दावन नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिसकेका एक कुशल, अनुभवी र दक्ष राष्ट्र सेवक कर्मचारी हुन् ।
कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले आफू सबै जनप्रतिनिधि,कर्मचारी अन्य सबै पक्षलाई समेटेर सबैको मन जित्नेगरी नगरको हितमा काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा माधवनारायण नगरपालिकाका सम्पूर्ण वडा अध्यक्ष,कार्यपालिका सदस्य दीपेन्द्र मुखिया सहित अन्य कार्यपालिका तथा वडा सदस्य,नगरपालिकाका कर्मचारी,पत्रकार लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो।

