गढीमाई साझेदारी बनको चारदिने सिकाई अध्ययन अवलोकन भ्रमण

रञ्जन यादव
467 पाठक संख्या

बाराको पथलैया स्थित गढीमाई साझेदारी बन उपभोक्ता समुहले बार्षिक कार्यक्रम अन्तर्गत चारदिने सिकाई आदान प्रदान तथा अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ ।

समूहका पदाधिकारी,सदस्य र कर्मचारी सहितको टोलीले नवलपरासी, रुपेन्देही,कपिलबस्तु र बर्दिया स्थित साझेदारी बनहरुले बन संरक्षण र बिकासमा अबलम्बन गरेको रणनितीको बिषयमा जानकारी लिएको थियो ।

आन्तरिक पर्यटनको प्रवद्र्धन गर्नुका साथै वनको विकास र संवद्र्धनमा अरु साझेदारी वनले गरेका गतिविधिका वारेमा जानकारी लिने उद्देश्यले बार्षिक कार्यक्रम अन्तर्गत अध्ययन अवलोकन भ्रमण गरिएको गढीमाई साझेदारी बन उपभोक्ता समुहका अध्यक्ष रामएकवाल साह तेलीले जानकारी दिए ।

त्यस्तै साझेदारी बनहरुको अध्ययन तथा अवलोकनले साझेदारी वनले गरेका वन संरक्षण,गरिवी न्यूनिकरण लगायतका कार्यहरुवाट आफुहरुलाई नयां सिकाई भएको टोलीका सदस्यहरुले प्रतिक्रिया दिएका छन् ।

यही गत फागुन २७ गतेदेखि ३० गते सम्म चार दिन अध्ययन तथा अवलोकन भ्रमण गरिएको थियो ।

नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा नं.१४,कोटटाडी स्थित मध्यबिन्दु साझेदारी बन उपभोक्ता समुह,रुपेन्देही जिल्लाको कञ्चनपुर नगरपालिका वडा नं.५ स्थित लुम्बिनी साझेदारी बन र कपिलबस्तु जिल्लामा रहेको तिलौराकोट साझेदारी बन उपभोक्ता समुहले वन विकास,सामाजिक विकास र गरिवी न्यूनिकरणका क्षेत्रमा धेरै काम गरेकाले आफ्नो सब डिभिजन पथलैया अन्तर्गत रहेको गढीमाई साझेदारी बन उपभोक्ता समुहको टोलीलाई अध्ययन अवलोकन गर्न सल्लाह दिएको डिभिजन बन अधिकृत ललन राउतले जानकारी दिए ।

यता गढीमाई बन उपभोक्ता समुहका सदस्य शेषनाथ कुश्वाहाले अन्य बन साझेदारी समूहले गरेका राम्रा कामको अवलोकन गरी आफ्नो समूहमा अझ राम्रो काम गर्न सहज हुने र अन्य समुहको अवलोकनले हामीलाई नयाँ सिकाई मात्र नभएर समान चुनौतीहरुको पहिचान र समाधानका उपाय पनि आदानप्रदान गर्न निकै सहज हुने बताए ।

अवलोकन भ्रमणले आफ्नै देशको भौगोलिक विविधताका बारेमा ज्ञान हुनुका साथै प्राकृतिक सुन्दरताको दृष्यावलोकन गरी भ्रमणमा सहभागि सबैले भरपुर आनन्द लिने अवसर प्राप्त भएको समूहका बरिष्ठ सदस्य अजित रायले बताए ।

समुहका सल्लाहकार गोपाल साहले बनसंग उधमशिलतालाई कसरी जोड्न सकिन्छ भन्ने सिक्न सकिने बताउनुभयो । बर्दियामा सञ्चालित डालो होमस्टे बाट बन भित्र पनि होमस्टे संचालन गर्न सकिने लगायत धेरै कुराको यस अध्ययन अवलोकनबाट सिक्न सकिने बताएका छन ।

भ्रमण टोलीमा उपभोक्ता,पदाधिकारी,सल्लाहकारहरु,अगुवा सहित ३० जनाको सहभागीता रहेको थियो । अध्ययन अवलोकन भ्रमणको क्रममा बर्दिया राष्ट्रिय निकुञ्ज,लुम्बिनी गौतमबुद्ध जन्म स्थल र सिजि मन्दिरकोको भ्रमण गरिएको थियो।

Leave a review

This will close in 0 seconds