बाराको कोल्हवीमा सोमबार विभिन्न सरोकारवालाहरूसँग वैदेशिक रोजगारीका विविध सवालमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कोल्हवीमा रहेको रोजउड होटलको सभा हलमा आयोजित उक्त कार्यक्रम नेपाल सरकारको श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,वैदेशिक रोजगार बोर्डको सचिवालयले आयोजना गरेको हो ।
रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेतीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिकाका नगर प्रमुख राम प्रसाद चौधरी रहनु भएका थिए ।
सो कार्यक्रममा रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डाक्टर उप्रेतीले फ्लेक्स बोर्डमा रहेको विभिन्न सरोकारवालाहरूसँग वैदेशिक रोजगारीका विविध सवालमा छलफल तथा अन्तरक्रिया कार्यक्रम पढी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
सो अन्तरक्रियामा वैदेशिक रोजगारीमा जाँदा के गर्ने ? कसरी जाँदा सुरक्षित हुन्छ ? कुन–कुन प्रक्रिया पूरा गर्नुपर्छ ? लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको हो ।
उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै कोल्हवी नगरपालिका का नगर प्रमुख राम प्रसाद चौधरीले वैदेशिक रोजगार बोर्डबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जाँदा ठगिने र दुःख पाउने गरेको बताए ।
वैदेशिक रोजगारीमा जानू अगाडि सीप सिकेर जानमा जोड समेत उनले दिए ।
श्रम स्वीकृति लिएर तथा प्रक्रिया पुर्याएर वैधानिक तरिकाबाट जान,’ उनले भने । अहिले पनि कति युवाहरू श्रम स्वीकृति नलिई अवैधानिक ढंगबाट जाँदा विदेशमा अलपत्र पर्ने, ठगिने र मृत्युसमेत व्यहोन बाध्य हुने गरेको उनले बताए । वैदेशिक रोजगारीमा जानू अगाडि सीप सिकेर जानमा चौधरीले जोड दिएका छन ।
यस्तै युवा नेपालमा रोजगारी नभएको भन्दै विदेश जाने गरेको र त्यसमा पनि श्रम स्वीकृति नलिई जाँदा विदेशमा अलपत्र पर्ने गरेको वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेतीले बताए ।
उनले आफू जान चाहेको देशको सामान्य भाषा,नियम कानुनलगायतका कुरा जानकारी लिन पनि उनले आग्रह गरे । एकातिर,वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने सेवा सुविधाबारे जानकारी नहुँदा पनि वैदेशिक रोजगारीमा जानेहरूले अनकौं कष्ट भोग्नु परेको जानकारी दिए ।
कार्यक्रममा नि.शुल्क शव ढुवानी सेवा,मृतक कामदारको नजिकको हकवालालाई आर्थिक सहायता प्रदान गर्ने,बिरामी वा अंगभंग भएमा प्रदान गरिने उपचारका लागि आर्थिक सहयोग,कामदारको घरपरिवारका सदस्यलाई प्रदान गरिने औषधि उपचार सहयोग,छात्रवृत्ति सहायता,उद्दार तथा खोजतलास सेवा,कानुनी प्रतिरक्षा सहायता,महिला कामदारको पुर्व प्रस्थान अभिमुखिकरण,तालीम शुल्क सोधभर्ना र अन्य प्रवर्धनात्मक विभिन्न कार्यक्रमहरु सरकारबाट प्रदान गरिने जानकारी समेत दिईएको थियो ।
विदेश जानका लागि कागजपत्र तयार गर्दा १० हजार रुपैयाँ शुल्क लाग्ने र भिसा फ्री टिकटमा जाने नियम हो । उप्रेतीले देशमा सबैभन्दा बढी वैदेशिक रोजगारीमा जानेको संख्या मधेशमा रहेको बताए ।
उनले विदेशमा रहँदा वा नेपालमा रहेर सिखेको सीप पहिचान गर्न सिटिभिटीले सीप परीक्षण गर्ने र प्रमाणपत्र दिने तयारी गरिरहेको बताए ।
संकटमा परेकालाई सहयोग गर्न बोर्डले ब्याजसहित ६ अर्ब ३५ करोड रुपैयाँ राखेको छ ।
उनले सीप सिकेर स्वदेश फर्किएकालाई ऋण उपलब्ध गराउन सरकारले काम गरि रहेको जानकारी दिए ।
कार्यक्रममा सपही क्याम्पसका अध्यक्ष ढुण्डीराज उप्रेती,कोल्हवी नगर उधोग वाणिज्य संघका अध्यक्ष लक्ष्मी साह,अडिटर एसोसिएसनका टिना सुवेदी,प्रहरी नायब निरीक्षक लाल कुमार यादव,ललन तिवारी,विनिता रिमाल,सविता तिवारी,सलमा राई,विभिन्न पालिकाका प्रतिनिधि तथा सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियोे ।
सो कार्यक्रमको संचालन शाखा अधिकृत हेमकुमार अधिकारीले गरेका थिए ।

