जंगली जनावर सिकार गरेको आरोपमा नौ जना पक्राउ

रञ्जन यादव
354 पाठक संख्या

डिभिजन बन कार्यालय बाराले मध्यरातमा नौ जनालाई सिकारीलाई पक्राउ गरेको छ ।

बुधबार राती करिब ११ बजे कोल्हबी नगरपालिका वडा नं.२ बाट सब डिभिजन बन कार्यालय कोल्हबीले बन क्षेत्रमा शिकार खेल्न गएको बिशेष सुचनाको आधारमा पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा वडा नं.२ का दिनेस ठकुरी,धुब्र कुशुवार माझी,बिशाल शाही ठकुरी,कृष्ण बहादुर कुशुवार,चन्द्र लामा,केशव कुशुवार माझी,रामबिनोद दास,निमेश कुशुवार माझी र सिताराम कुशुवार माझी रहेका छन् ।

उनीहरु रहेको ठाउँबाट २८ फिट लामो साँत फिट चौडाई भएको पाँच थान जाल,३० फिट लामो र साँत फिट चौडाई भएको ५ थान जाल,भाला दुई थान,लठ्ठी ३५ थान,मोटरसाईकल ४ थान,साईकल ४ थान बरामद भएको सब डिभिजन बन कार्यालय कोल्हबीका प्रमुख अब्दुल करिमले जानकारी दिएका छन ।

पक्राउ परेकाको साथबाट बरामद भालमा बन्यजन्तु मारेको रौँ पनि देखिएको प्रमुख करिमले बताउँनुभयो । शिकारी आरोप लागेका ब्यक्तिलाई पक्राउ गरेर डिभिजन बन कार्यालय बारा सिमरा ल्याएपछि स्थानीय नेता रहेका पुर्ब मेयर भरत भण्डारी सहित बिभिन्न मान्छेको भिड जम्मा गरि घेराबन्दी गरेर आफुलाई थुन्ने धम्की दिएको सब डिभिजन प्रमुख करिमले दुखेसो गर्नुभयो ।

सुरक्षाकर्मीको सहयोगमा वन कर्मचारीले सिकारीलाई नियन्त्रणमा लिएपछि भण्डारीले राति नै डिभिजन वन अधिकृत विनोद सिंहलाई फोन गरेर नियन्त्रणमा लिएका ९ जनालाई नै तत्काल छोड्न चेतावनी दिएको वन कार्यालय स्रोतले जनाएको छ ।

डिभिजन वन प्रमुख विनोद सिंहले वन्यजन्तु सिकारीहरूलाई सामानसहित रङ्गेहात नियन्त्रणमा लिएकाले सबैलाई अनुसन्धानको प्रक्रिया पूरा गरेर कानुन बमोजिम कारबाही गर्ने बताए ।

‘सिकारीहरूबाट नियन्त्रणमा लिएको भालामा वन्यजन्तुको रौँ,रगतको टाटाहरू भेटिएको छ । तर त्यो कुन वन्यजन्तुको हो भन्ने पत्ता लगाउन हामीले विधि विज्ञान प्रयोगशालामा पठाउँछौँ र त्यहाँबाट रिपोर्ट आइसकेपछि अनुसन्धानको प्रक्रिया अगाडि बढ्छ,’ डिभिजन वन प्रमुख सिंहले भने ।वन कार्यालयले नियन्त्रणमा लिएका सबैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कारबाही अगाडि बढाउने जनाएको छ ।

बुधबार मध्यरातमा नियन्त्रणमा लिएका सबैलाई कोल्हवी नगरपालिका वडा नं २ का वडासदस्य दुर्गा बहादुर श्रेष्ठको रोहवरमा छाडिएको हो ।यता कोल्हवी नगरपालिकाका पूर्वनगरप्रमुख भरत भण्डारीले भने स्थानीयहरूले बँदेल नियन्त्रणमा लिने क्रममा वन कर्मचारीले एक्कासी पक्राउ गरेको बताए ।

‘बँदेलले गाउँमा किसानहरूको मकै खाएर दुःख दिएकाले बँदेललाई पासोमा पार्न जाने क्रममा वनका कर्मचारीले नबुझीकन बाघ मार्ने यिनै हुन् भन्दै उहाँहरूलाई नियन्त्रण लिनु भएको हो,’ भण्डारीले भने । वन कर्मचारीले वास्तविक सिकारी हो कि होइन भन्ने नचिनिकन नियन्त्रणमा लिने क्रममा वादविवादको अवस्था सिर्जना भएको उनको भण्डारीको भनाइ छ ।

Leave a review

This will close in 0 seconds